‘लम्पीस्किन’ ले गोरू मर्न थालेपछि रोपाइँमा बाधा

गोरखामा ‘लम्पीस्किन’ रोगका कारण गोरू मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरू भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्।

मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरू मर्न थालेपछि किसान मारमा परेका छन्। लम्पीस्किनले गोरू मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका-३, फुजेलका विष्णुप्रसाद पन्तले बताए।

‘रोपाइँ गर्ने बेलामा गोरू मर्‍याे,’ उनले भने, ‘धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुस्किल भएको छ।’ लम्पीस्किन रोगका कारण हल गोरू नै मरेपछि निरास बनेका पन्तले अब रोपाइँ गर्नका लागि ट्र्याक्टर खोज्न थालेको बताए।

रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरू मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ। ‘खेताला पनि पाउन गाह्रो छ,’ पन्तले भने।

लम्पीस्किनले गोरू मरेपछि शहीद लखन गाउँपालिका-६, घैरूङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरूङले बताए। ‘कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ,’ उनले भने, ‘जसको गोठमा गए पनि गोरू बिरामी छ भन्ने मात्र जवाफ आउँछ। गोरू नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन।’

गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रकी प्रमुख डा. शर्मिला कुमालले बता‍इन्। जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पीस्किनबाट सङ्क्रमित भएका छन्। यस रोगबाट एक सय चार गोरू मरिसकेका छन्। जिल्लाका ११ वटै स्थानीय तहमा लम्पीस्किनको सङ्क्रमण फैलिएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर