अज्ञात राेगले कालीकोटकाे एउटै गाउँका तीन सय जना बिरामी

कालीकोटको तिलागुफा नगरपालिका-१०, रूडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना मानिस बिरामी परेका छन्।

अज्ञात रोग फैलिएको जानकारी पाएपछि जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रूडुगाउँ पुगेको छ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए।

बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ।

महतले भने, ‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको छ।’

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टङ्कप्रसाद आचार्यले जानकारी दिए। उनले शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको बताए।

उपचारका लागि आउने दुई सय छ जना १५ वर्षमुनिका छन्। सबै बिरामीमा एउटै किसिमको लक्षण देखिएको डा. आचार्यले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर