टीकापुरमा केरा खेती फस्टाउँदै

कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिन प्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरूआतमा १० बोटबाट व्यवसाय सुरू गरेको बताउँछन् । यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् ।

हमाल भन्छन्, ‘त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए । अहिले धेरै किसान यसमा लागेका छन् ।’ हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडे । केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ । उनी उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन् । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको तथ्याङ्क छ । बर्सेनी केरा खेती विस्तार हुँदै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउँछन् ।

‘किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या छैन, एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ,’ उनी भन्छन्, ‘टीकापुरमै सहजै केराको बेर्ना उपलब्ध हुन्छ ।’ धामीले केराको बेर्ना टीकापुरमै उपलब्ध गराउँदै आएका छन् । उनले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आएका हुन् ।

केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्री गर्छन् । गत वर्ष करिब दुई लाख केराको बिरूवा बिक्री गरेको उनले बताए । केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रूपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ ।

व्यवसायी राजकुमार चौधरी व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेका बताउँछन् । केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ ।

कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरू ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले रु ६० लाख विनियोजन गरेको बताए ।

कार्यान्वयन इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । च्याम्बर पूर्णरुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर