भारतमा वर्षाको वितण्डा : ३१ जनाको मृत्यु

भारतको उत्तरी र पश्चिमी राज्यहरूमा भइरहेको अविरल वर्षाले वितण्डा मच्चाएको छ। वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ भने जनजीवन अस्तव्यस्त बनेको छ।

राजधानी नयाँदिल्ली, उत्तराखण्ड, हरियाणा, पञ्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, पश्चिमी राजस्थान र गुजरातमा भारी वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आजतकका अनुसार मुसलधारे वर्षापछिको बाढी-पहिरोमा उत्तर भारतमा हालसम्म ३१ जनाको मृत्यु भएको छ।

हिमाचलमा मात्रै १६ जना र पञ्जाबमा ५ जनाको बाढी र वर्षाका कारण ज्यान गएको छ। यी राज्यहरूबाट बाहिरिएका भिडियोहरूमा विनाशको दृश्य मात्र देखिन्छ। दिल्लीका सडक जलमग्न बनेका छन्। दिल्लीमा वर्षाका कारण सोमबार विद्यालयहरू बन्द गरिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पछिल्लो ४० वर्षमा पहिलो पटक यति धेरै भारी वर्षा भएको बताएका छन्। उनले दिल्लीको प्रणालीले यति धेरै वर्षा झेल्न नसक्ने बताए।

उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ।

सामाजिक सञ्जालहरूमा बाढी र पहिरो बस्तीमा पसेका, सडक र पुल बगाएका भिडियोहरू आइरहेका छन्। तीर्थ यात्रा र घुम्न गएका मानिसहरू विभिन्न ठाउँमा अलपत्र परेका छन्।

दिल्लीमा यमुना नदीको जलसतहले खतराकाे तह पार गर्न सक्ने चेतावनी दिइएकाे छ।

टाइम्स अफ इन्डियाका अनुसार बंगालको खाडीबाट आएको मनसुनी वायु र अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावले उत्तर पश्चिम भारतमा अहिले मुसलधारे वर्षा भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर