वान एक्स बेट प्रकरण

कलाकार र युट्युबरसहित ११ जनाविरूद्ध मुद्दा दर्ता, करिब ६५ करोड बिगो माग

कलाकार र युट्युबरलाई एक वर्षसम्म कैद माग

अनलाइन बेटिङ साइट वान एक्स बेटमार्फत सट्टेबाजी गराएको तथा यसको प्रचार गरेको अरोपमा पक्राउ परेका कलाकार र युट्युबरसहित ११ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा पक्राउ १० र फरार एक जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धितालविरूद्ध सट्टेबाजी गराएको आरोपमा मुख्य अभियुक्तको रूपमा मुद्दा दर्ता भएको छ।

यस्तै प्रचार गरेको आरोपमा कलाकार तथा युट्युबरविरूद्ध पनि मुद्दा दर्ता भएको हो।

पक्राउ परेका युट्युबर एवं कलाकारहरू जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जीडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स- पवन खतिवडा) विरूद्ध मुद्दा दर्ता गरिएको हो।

यस्तै प्रहरीले हाल फरार युट्युबर मोरङ विराटनगरका २४ वर्षीय कुशल पोखरेललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

सरकारी वकिलले अभियुक्त दिनेश र अनिताले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रूपैयाँ बिगो माग गरेको छ।

राष्ट्र बैंकको ऐनअनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजायको मागदाबीसहित उनीहरू दुईविरूद्ध अभियोगपत्र दर्ता गरिएको छ।

यस्तै मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना गर्न पनि माग गरिएको छ। त्यसबाहेक उनीहरू दुवैविरूद्ध एकीकृत कसुरबापत थप सजायको पनि माग गरिएको छ।

यता युट्युबर तथा कलाकारहरूविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको छ।

उक्त कसुरको दफा २५ को उपदफा १ र २ बमोजिम सजायको माग सरकारी वकिलले गरेको छ। उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रूपैयाँ जरिवाना गर्न माग गरिएको हो।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *