बैतडी बस दुर्घटना अपडेट : एकको मृत्यु, २६ जनाको अवस्था गम्भीर

बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४१ जना घाइते भएका छन् ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते हुने ४१ सबैलाई मेलौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । रेफर गरिएकामध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खत्रीले बताए । उनले भने, ‘घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौँ, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ । १५ जना मध्यम अवस्थामा छन् ।’

ओरालो सडकमा अनियन्त्रित भएर सडक दुर्घटनामा परेको हो । सडकबाट चार सय मिटर तल खसेर बस रूखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *