बैतडीमा लम्पीस्किन नियन्त्रणबाहिर : ६४ हजार पशु संक्रमित, ९ हजार मरे

बैतडीमा लम्पीस्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए ।

यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु सङ्क्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए ।

लम्पीस्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैंसी बढी प्रभावित भएका छन् । उनले भने, ‘लम्पीस्किनको सङ्क्रमण दिन प्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन । प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं ।’

लम्पीस्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका सङ्क्रमित रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । उनले भने, ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ । लेकाली चिसो हुने गाउँमा कम छ । अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ ।’

नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ । लम्पीस्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ ।

उनले भने, ‘सामान्य औषधोपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्तिबाट मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन । अहिले सङ्क्रमित देखिएका पशु मर्ने क्रम झन् बढ्ने देखिन्छ ।

यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष्य जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ । उनले भने, ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’

बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् ।

यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *