सशस्त्र प्रहरीमा अब ‘जिराे प्लाष्टिक’

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना सम्पूर्ण इकाइहरूमा प्लाष्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्यअनुरूप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरूमा सचेतना अभिवृद्धि गराई प्लाष्टिजन्य वस्तुको प्रयोग न्यूनीकरण, पुनः प्रयोग र पुनः चक्रण गर्ने नीति लिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार सोही नीतिअनुरूप आगामी साउन १ गतेदेखि सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ भने केहीको प्रयोग क्रमशः कम गर्दैै लगिने छ।

मानवीय क्रियाकलापमा विशेष गरी हरितगृह ग्यास उत्सर्जन र नकुहिने प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोग र अव्यवस्थित विसर्जनले गर्दा जलवायु परिवर्तनमा विश्वव्यापी प्रभावहरू देखा परिरहेको विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानले प्रमाणित गरेको तथा मौसम परिवर्तनमा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, तापक्रम वृद्धि र हिमनदी, हिमताल तीव्र गतिमा पग्लिँदै गइरहेको सन्दर्भमा यस प्रकारको थालनी गरिएको हो।

आगामी साउन १ गतेबाट सशस्त्र प्रहरी बल, नेपालले आफ्ना युनिटहरूमा पोलिथिनका झोलाको प्रयोग, प्लाष्टिकबाट निर्मित फूल तथा गमला खरिद, प्रयोगपछि फ्याँकिने प्लाष्टिकजन्य सामानहरूको प्रयोग, मेश, बाथरूम र ट्वाइलेटमा समेत प्लाष्टिकका जग, मग, बाल्टी र बाटालगायतका सामानहरू निषेध गर्ने निर्णय गरेको छ।

यसका साथै सोही मितिबाट राशन स्टोरमा प्लाष्टिकको झोला तथा बोरा, कार्यालयमा प्लाष्टिकका पानी बोतलहरू, क्यान्टिनमा प्लाष्टिकमा प्याक गरिएका सामानहरू बेचबिखन कार्य र फोहोर बाल्ने कार्यसमेत सशस्त्र प्रहरी बल, नेपालका युनिटहरूमा क्रमशः कम गर्दै लगिने छ।

त्यस्तै वातावरण संरक्षणका लागि सशस्त्र प्रहरी बल, नेपालले खाद्यान्य भण्डारणका लागि प्लाष्टिकबाहेक टिन तथा काठको डिब्बा प्रयोग गर्ने, राशन सप्लायर्सलाई बिस्कुट तथा पाउरोटीलगायतका सामानहरू कागजको प्याकेटमा आपूर्ति गर्न अनुरोध गर्ने तथा फोहोरको वर्गीकरण गरी डस्टविनको व्यवस्था मिलाउने र सोहीबमोजिम व्यवस्थापन गर्न स्थानीय तहहरूसँग समन्वय गरी काम गर्ने योजना बनाएको छ।

साथै आफ्नो कार्यालयहरूमा पानीका लागि पुनः प्रयोग गर्न सकिने जारहरूको प्रयोग गर्ने, युनिटमा हुने कार्यक्रमहरूमा कागज वा पातले बनेका नष्ट गर्न सकिने सामान प्रयोग, मेशहरूमा स्टिल, सिसा वा तामाको जग, मगको प्रयोग गर्ने, मेश, ट्वाइलेट, बाथरूमलगायतमा सिल्भर तथा स्टिलको बाल्टी, बाटाहरूको प्रयोग गर्ने योजना बनाइएको छ।

यसका साथै युनिट परिसरमा भएका खाली जग्गाको उपयुक्त स्थानहरूमा मौसम र भूगोल सुहाउँदो अन्नबाली, तरकारी तथा फलफूल खेती, प्रयोगमा नआएका कुनै पनि जमिन बाँझो नराख्ने र वातावरण संरक्षणसम्बन्धी भएका कार्यहरूको स्तर सम्बन्धमा केन्द्रबाट निरीक्षणसमेत गरिने भएको छ।

प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउनुपर्छ भनी नेपालको संविधानमा भएको व्यवस्था तथा राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूबाट समेत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा वातावरण संरक्षणसम्बन्धी विशेष गरी पेरिस सम्झौताअनुसार व्यक्त प्रतिबद्धताका साथै मानव सुरक्षाको अवधारणामा समेत वातावरण सुरक्षा पर्ने भएको हुँदा सशस्त्र प्रहरी बल, नेपालले वातावरण संरक्षण र संवर्द्धन गर्न सहयोग पुर्‍याउने उद्देश्यले यी कार्यको थालनी गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर