‘ट्रेन्ड’ बन्दै सुनकाे सिक्री लुटपाट, ललितपुरमा तीन जना पक्राउ (भिडियोसहित)

काठमाडाैं उपत्यकामा सुनकाे सिक्री लुटपाटका घटना ‘ट्रेन्ड’ जस्तै बन्दै गएकाे छ। काठमाडौंका विभिन्न स्थानमा ‘मर्निङ वाक’ मा हिँडेका महिलाले घाँटीमा लगाएका सुनको सिक्री शृंखलाबद्ध रूपमा लुट्ने पाँच जना पक्राउ परेको घटना सेलाउन नपाउँदै ललितपुरमा समान प्रकृतिको घटनामा तीन जना पक्राउ परेका छन्।

पैदल हिँडिरहेका महिलाले घाँटीमा लगाएका सुनको सिक्री लुट्ने तीन जनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-११, लुकुसी बस्ने ३२ वर्षीय लोलिनकाजी महर्जन, सोही महानगरपालिका-७, सुन्धारा बस्ने ३१ वर्षीय रवीन्द्र शाक्य र काठमाडौं महानगरपालिका-२४, नरदेवी बस्ने ३३ वर्षीय रोहन नेपाली छन्।

उनीहरूले असार १७ गते ललितपुर महानगर-१०, महर्जन गल्लीमा पैदल हिँडिरहेकी पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटेका थिए भने सोही दिन ललितपुर महानगर-११ बस्ने मीना शाक्यको सिक्री लुट्ने प्रयास गरेका थिए।

यस्तै असार १८ गते ललितपुर महानगर-११ बस्ने ममता बज्राचार्य र १९ गते ललितपुर महानगर-४, धोबिघाट बस्ने सारिका कुशवाहाको सुनको सिक्री लुटेका थिए।

उनीहरूले लुटपाटमा नम्बर नखुलेको रातो रङको स्कुटर प्रयोग गरेका थिए।

सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा खोजतलास गर्दै जाँदा उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले लागुऔषधसमेत बरामद गरेको छ।

याे पनि – चाेरीकाे माेटरसाइकलमा सवारी, ‘मर्निङ वाक’ मा हिँडेका महिलाकाे सुनकाे सिक्री लुटपाट

उनीहरूका साथबाट फेनारगन २ एम्पुल, डाइजेपाम २ एम्पुल, नोफिन २ एम्पुल र सिरिन्ज ५ थाा बरामद भएको छ।

यस्तै सुनको सिक्री १ थान, बा २९ प १५६२ नम्बरको पल्सर मोटरसाइकल, बा ९९ प ३६२८ नम्बरको एनटर्क स्कुटर पनि बरामद भएको छ।

उनीहरूविरूद्ध लागुऔषध तथा चोरीसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए।

यसअघि असार २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तै घटनामा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

पक्राउ पर्नेमा रामेछाप लिखु गाउँपालिका-१ का ३२ वर्षीय रविन दमाई, सुनसरी धरान उपमहानगरपालिका-८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका-७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका-७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बंगाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती छन्।

उनीहरूले चोरीको मोटरसाइकल प्रयोग गरी शृंखलाबद्ध रूपमा काठमाडौंका विभिन्न स्थानमा ‘मर्निङ वाक’ मा हिँडेका महिलाले गलामा लगाएका सुनका सिक्री लुटपाट गरेका थिए।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर