मनाङ एयर दुर्घटना छानबिन गर्न सरकारले बनायो समिति

मृतकहरूको शव काठमाडौं ल्याइयो

सरकारले पाइलटसहित ६ जनाको मृत्यु हुने गरी मंगलबार बिहान सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना छानबिनका लागि समिति बनाएको छ।

मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति बनाएको हो।

बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट ५ जना मेक्सिकन नागरिक लिएर उडेको मनाङ एयरको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। त्यसको केही समयपछि लिखुपिके गाउँपालिका-५ स्थित लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

पाइलट चेतबहादुर गुरूङ र अन्य पाँच जना मेक्सिकन नागरिकको दुर्घटनामा मृत्यु भएको छ।

मृतक ६ जनाकै शव अल्टिच्युड हेलिकोप्टरमार्फत पोष्टमर्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *