मनाङ एयर दुर्घटना

अनुभवी नेपाली पाइलटसहित एकै परिवारका पाँच मेक्सिकन हेलिकोप्टर दुर्घटनामा अस्ताए

मंगलबार बिहान सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एक अनुभवी नेपाली पाइलटसहित नेपाल घुम्न आएका एकै परिवारका ५ जना मेक्सिकन नागरिकको मृत्यु भएको छ। दुर्घटनामा पाइलट चेतबहादुर गुरूङ तथा एकै परिवारका पाँच जना मेक्सिकन नागरिकले ज्यान गुमाएका हुन्।

मनाङ एयर कम्पनीका सञ्चालक मुक्ति पाण्डेका अनुसार मृत्यु भएका ५४ वर्षीय गुरूङ सिनियर पाइलट हुन्। मनाङ हेलिकोप्टर सन् १९९७ देखि सञ्चालनमा छ। पाइलट गुरूङले सोही सालदेखि नै विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेका थिए। मनाङ एयरको हेलिकोप्टर उडाउनुअघि उनले रूस र अफगानिस्थानमा समेत हेलिकप्टर उडाएका थिए।

यस्तै मृत्यु भएका पाँच मेक्सिकन नागरिकहरू एकै परिवारका रहेको खुलेको छ। अध्यागमन विभागका अनुसार दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको हो।

दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरूमध्ये दुई जना आमा-बुवा र तीन जना छोराछोरी हुन्।

उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल घुम्न आएका थिए। पासपोर्टमा उनीहरूको ठेगाना उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोन उल्लेख छ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट ५ जना मेक्सिकन नागरिक लिएर उडेको मनाङ एयरको जहाज सवा १० बजे सम्पर्कविहीन भएको थियो। त्यसको केही समयपछि लिखुपिके गाउँपालिका-५ स्थित लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

दुर्घटनामा मृत्यु ६ जनाकै शव अल्टिच्युड हेलिकप्टरमार्फत पोष्टमर्टमक लागि काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको छ। सरकारले दुर्घटना छानबिनका लागि समिति पनि बनाएकाे छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *