प्रचण्डले पत्नी मात्र होइन राजनीतिक सहयात्री पनि गुमाए

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी एवं पार्टी सल्लाहकार सीता दाहालको निधन भएको छ। लामो समयदेखि पार्किन्सनबाट पीडित सीताको नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो।

सीताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उनको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ।

अन्त्येष्टिअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर माओवादी पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा राखिएको थियो। त्यहाँ पुगेर विभिन्न दलका शीर्ष नेताहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

माओवादी जनआन्दोलनदेखि पार्टी राजनीतिमा महत्त्वपूर्ण भूमिका निभाएकी सीता श्रीमान प्रचण्डको राजनीतिक सहयात्री थिइन्। भूमिगत कालमा प्रचण्ड सँगसँगै हिँडेकी उनले प्रचण्डलाई राजनीतिक जीवनका हरेक आरोह-अवरोहमा सधैं साथ दिइरहिन्।

वि. सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा अध्यक्ष दाहालसँग विवाह भएको थियो।

वि. सं. २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरूआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन्।

जनयुद्धका समयमा सिंगो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्।

चितवनको भरतपुर महानगरपालिका-१४ स्थायी ठेगाना भएकी सीताका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भएको थियो।

सन्तान गुमाउँदाको पीडा सहन गर्दै परिवार र राजनीतिको सन्तुलन मिलाएर अघि बढेकी सीतालाई सबै दलका नेताहरूले श्रद्धासाथ स्मरण गरेका छन्।

धेरै नेताहरूले उनलाई सिंगो देशको आमाका रूपमा व्याख्या गरेका छन्। कुनै पदको मोह नराखी सन्तान वियोगका बावजुद अविचलित रूपमा देशमा परिवर्तनका लागि राजनीतिक संघर्षमा होमिएकाले सीतालाई यो श्रद्धा प्राप्त भइरहेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *