नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरिएको घटनामा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३० घर भई काठमाडौं महानगरपालिका-१६, नयाँबजार, खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

एसपी रेग्मीले पक्राउ परेका उनलाई ठगी तथा संगठित अपराध कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको बताए।

तुलाधर पक्राउ परेसँगै याे प्रकरणमा पक्राउ पर्नेकाे संख्या  १९ पुगेकाे छ। तुलाधरअघि पक्राउ परेका १८ मध्ये दुई जना धरौटीमा रिहा भएका थएि भने १६ जना पुर्पक्षका लागि थुनामा छन्। टंक गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रूपैयाँ धरौटीमा छाडिएकाे हाे।

पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जन भने पुर्पक्षका लागि थुनामा छन्।

३० जनालाई प्रतिवादी बनाएर दायर यस मुद्दामा ११ जना अझै फरार छन्। प्रहरीले उनीहरूकाे पनि खाेजी भइरहेकाे जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *