विद्यालय हाताभित्रको जमिन अवैध उत्खनन, इँटा उद्योगलाई माटो बेचेर ७ लाख बढी भ्रष्टाचार

विव्यस अध्यक्ष र प्रअसहित ४ जनाविरूद्ध मुद्दा दर्ता

विद्यालय हाताभित्रको जमिन गैरकानूनी रूपमा उत्खनन गरी इँटा उद्योगलाई माटो बिक्री गरेर भ्रष्टाचार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापसहित ४ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका-४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालय, डाङाजाईका तत्कालीन विव्यस अध्यक्ष लक्ष्मण राना र प्रअ सुरेन्द्रबहादुर बोहराविरूद्ध बिहीबार विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो।

यस्तै माटो खरिद गर्ने न्यू भगवती इँटा उद्योगका म्यानेजर राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका प्रोप्राइटर धनबहादुर विष्टविरूद्ध पनि मुद्दा दर्ता भएको हो।

उनीहरूले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा विद्यालय हाताभित्रको माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा ७ लाख २९ हजार ५१४ रूपैयाँ सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

तत्कालीन विव्यस अध्यक्ष राना र प्रअ बोहराविरूद्ध जनही समान ७ लाख २९ हजार ५१४ रूपैयाँ बिगो कायम गरिएको छ।

यस्तै न्यू भगवती इँटा उद्योगका म्यानेजर राजेन्द्रबहादुर भाटविरूद्ध ४ लाख ११ हजार ६०६ र सद्ध वैजनाथ इँटा उद्योगका प्रोप्राइटर विष्टविरूद्ध ३ लाख १७ हजार ९०८ रूपैयाँ बिगो माग गरिएको छ।

चारै जनाविरूद्ध बिगोबमोजिम जरिवानासहित भ्रष्टाचार निवारण ऐनअनुसार सजायको समेत मागदाबी लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *