सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दृढ छ : गृहमन्त्री श्रेष्ठ

'सुशासनको अभियानले विश्राम लिँदैन'

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दृढ रहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय’ शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले साे कुरा बताएका हुन्।

उनले साधनस्रोतको सीमितताका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको पनि जानकारी दिए। ‘प्रहरी फोर्सभित्र वृत्तिविकास र भौतिक पूर्वाधारको समस्या छ,’ उनले भने, ‘सीमासुरक्षा, अपराध नियन्त्रण, शान्तिसुरक्षा प्रभावकारी बनाउने, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, भेदभावको अन्त्यका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन साधनस्रोतको सीमाका बावजुद हामी अधिकतम प्रयास गरिरहेका छौँ।’

तस्करी, लागुऔषधको ओसारपसार तथा दुर्व्यसनी नियन्त्रण गर्न मन्त्रालयले गम्भीरतापूर्वक काम अगाडि बढाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले जातीय विभेद तथा छुवाछुतसम्बन्धी घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

उनले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताए।उनले सुशासनलाई आत्मसात गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन्, दोषी अपराधी नछुटुन् भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको बताए।

‘सुशासन समृद्धिको पूर्वशर्त हो। सुशासनलाई आत्मसात गरेर हामी अगाडि बढ्छौँ। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छ,’ उनले भने, ‘सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्याङ्कनसहित आभार व्यक्त गर्न चाहन्छु।’

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर