मानव तस्करी माफिया ‘चिनियाँ’ पक्राउ

नेपाली नागरिकलाई आकर्षक रोजगारीको प्रलोभन देखाई दक्षिण पूर्वी एशियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशहरूमा पुर्‍याएर अवैध अनलाइन ठगीमा लगाउने गिरोहका मुख्य योजनाकार चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको कान्सु प्रान्त घर भएका जोनसन नाम बताउने ४२ वर्षीय लियाङ चन रहेका छन्। उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

एक पीडित महिलाले दिएको जाहेरीपछि खोजतलासका क्रममा उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए। एसपी पंगेनीका अनुसार यसरी नेपालीलाई विदेश पुर्‍याएर जबर्जस्ती ठगीधन्दामा लगाउने गिरोहका उनी मख्य योजनाकार हुन्।

यो गिरोहले नेपालीलाई विदेश पुर्‍याएपछि बन्धक बनाएर शारीरिक तथा मानसिक यातनासहित जबर्जस्ती ठगीधन्दामा लगाएर श्रमशोषण गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार पीडित महिलालाई गिरोहले थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लगाइदिने भनेर २०७९ साउन ९ गते नेपालबाट थाइल्याण्ड लगेको थियो। त्यहाँबाट जबर्जस्ती १३ घण्टासम्म बस तथा डुंगामा चढाई म्यान्मारको यकिन नाम थाहा नभएको कम्पनीमा पुर्‍याएपछि उनको सक्कल राहदानी र मोबाइल खोसेर बन्धक बनाएको थियो।

बन्धक बनाएपछि आफूलाई अवैध अनलाइन ठगीमा दिनको १८ देखि २० घण्टासम्म काम गर्न बाध्य बनाई चरम श्रम शोषणसहित शारिरीक तथा मानसिक यातना दिएको पीडित महिलाले बताएकी छन्।

बिरामी भएर काम गर्न नसक्ने अवस्थामा समेत काममा लगाएपछि पीडित महिला नेपाल फर्किन खोजेकी थिइन् तर उनीसँग फिरौती मागियो। गिरोहलाई फिरौती रकम बुझाएपछि पीडित महिलाले नेपाल फर्किएर प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रहरीका अनुसार यस्तो कार्यमा नेपालीले समेत सहयोगीको भूमिका खेल्ने गरेका छन्। यसअघि यही घटनामा पुरूषले दिएको छुट्टै जाहेरीका आधारमा प्रहरीले सहयाेगीकाे भूमिका खेल्ने दुई नेपाली पक्राउ परेका थिए।

कालीकोटको तिलागुफा नगरपालिका-८ घर भई काठमाडौंको नागार्जुन नगरपालिका, ठूलोभर्‍याङ बस्ने २५ वर्षीय पदम नेपाली र नुवाकोटको ककनी गाउँपालिका-७ घर भई गोकर्णेश्वर नगरपालिका-४, देशेगाउँ बस्ने ३८ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानबाट यो गिरोहले नेपालीलाई दक्षिणपूर्वी एशियाली देश थाइल्याण्ड भनी म्यान्मार पठाउने, म्यान्मार पुगेपछि सक्कल राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने गरेको खुलेको छ। बन्धक बनाएपछि विभिन्न सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, ट्विटर,इन्सटाग्राम जस्ता एपहरू) मार्फत अनलाइन ठगीको काममा दिनको १८ घण्टा लगाउने र काम गर्न नमाने शारीरिक-मानसिक यातना दिने गरेको पाइएको छ।

पीडितले नेपाल फर्किन्छु भन्दा फिरौती रकम माग गर्ने गिरोहले थाइल्याण्ड भनी म्यान्मार पठाइएका पीडित जाहेरवालीकी बहिनीलगायत ११ जनालाई जबर्जस्ती अनलाइन ठगीको काममा लगाउँदै आइरेहको समेत बुझिएको प्रहरीले जनाएको छ। यसमा अरू थुप्रै चिनियाँ संलग्न रहेको खुलेको छ भने उनीहरूको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

नेपालमा चिनियाँ नागरिककाे आपराधिक गतिविधि बढ्दो छ। प्रविधिको दुरूपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहँदै आएका चिनियाँ नागरिक मानव बेचबिखनजस्तो जघन्य अपराधमा समेत सक्रिय भइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *