असार सकिनै लाग्दा मोरङमा ६५ प्रतिशत रोपाइँ

असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ।

‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ। मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले बताए।

जिल्लाको १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ९० प्रतिशत रापाइँ भएको छ, कटहरी गाँउपालिका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा ७० प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई गाउँपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैँचा नगरपालिकामा ६० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बूढीगङ्गा गाउँपालिकामा ५० प्रतिशत धान रोपाइँ भएको उनको भनाइ छ।

समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उल्लेख गर्दै प्रमुख सिंहले केही दिनदेखि लगातार पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको बताए।

जिल्लामा धेरै मात्रामा रञ्जीत, राम, बिबी एघार, स्वर्णलगायत धान लगाउने गरिएको उक्त केन्द्रले जनाएको छ। गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको उक्त केन्दले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *