पौडी खेल्ने क्रममा डुबेर गोरखामा एक बालकको मृत्यु

गोरखाको आरूघाट गाउँपालिका-२, छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ। धार्चे गाउँपालिका-२, केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरूङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालक गुरूङ विद्यालयको होस्टेल बसेर पढ्दै आएका थिए। होस्टेलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको उनले बताए।

पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर आरूघाटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आरूचनौटेमा उपचार गर्न पुर्‍याएको र उपचारका क्रममा नै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टेलमा फर्किएको प्रहरीको भनाइ छ। बालक बिहीबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर