विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगारसँगै अरूलाई पनि राेजगारी

जागिरको खोजीमा दैनिक हजारौँ युवाहरू विदेशी भूमिमा पुग्छन्। स्वदेशमा भनेजस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो। तर, यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन्।

पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरूलाई पनि रोजगारी दिएका छन्।

भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे। उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रूपमा काम गरे।

‘अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो,’ उनले भने, ‘सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किएँ।’

उनी अष्ट्रेलियामा काम गर्दा मासिक दुई लाख रूपैयाँ आम्दानी गर्थे। पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्के। छ वर्षअघि स्वदेश फर्के उनले हामी मासिक ७० हजार रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन्।

होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, ‘पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छाअनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु।’ आर्ट्समा समेत रूचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए।

उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारू र विजय थारूले काम गरिरहेका छन्। उनीहरूले मासिक १७ हजार रूपैयाँका दरले पारिश्रमिक पाउँछन्। ‘मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ,’ उनले भने।

पोखरा महानगरपालिका वडा नं. १७ सीताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउँछन्।

‘एक जोडि शिवलिङ्ग र गौमुखे धारा निर्माण गरेको छ हजार पाँच सय रूपैयाँका दरले सात लाख दुई हजार रूपैयाँ लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ,’ उनले भने। शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर