एक्सनमा आईजीपी

सशस्त्र प्रहरीमा एसएसपीदेखि सहायक हवल्दारसम्म बढुवाको तयारी 

सशस्त्र प्रहरी बल, नेपालले बरिष्ठ उपरीक्षकदेखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालेको छ ।
सशस्त्र प्रहरी बल, नेपालले आइतबार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेको हो।
सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, बरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको हो ।
यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाको लागि सूचना प्रकाशित गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी आइतबार नै लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारीससमेत गरिएको छ । आइतबार नै १ सय ९८ जना हवल्दारलाई बरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।
यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि।सं। ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछ ।
यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ । यसैगरी विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुनेछन् ।
खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री, गृहमन्त्री, गृहमन्त्रालयका कर्मचारी, अर्थमन्त्री र सो मन्त्रालयका कर्मचारीसमेत यसमा अत्यन्त सकारात्मक भएका कारण पनि एकै पटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया सुरु भएको हो । अहिले बढुवा नभएको भए यी दर्जाहरुमा अझै ७÷८ वर्ष बढुवा नहुने अवस्था सृजना हुने भएको थियो । तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ ।
विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ, भने सशस्त्र प्रहरी बलमा केही वर्ष यताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएकै कारण पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करीव ३ हजार कर्मचारी बढुवा भएका छन् ।
यस्तै ३१ सय भन्दा बढिको पदस्थापन, २० जनाको विशेष बढुवा, करीव १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको छ । लामो समयदेखि बढुवा जाम रहेको अवस्थामा प्रकाशित सूचनाबाट कर्मचारीहरुमा रहेको निराशासमेत हटेर जाने बलको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *