आजदेखि लागू हुँदै छन् यी नयाँ शीर्षकमा कर

आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरू भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँदै छन्। सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत तीन नयाँ शीर्षकमा कर लगाउन थालेको छ।

वैदेशिक पर्यटन, विलासिता (लक्जरी) र वैदेशिक रोजगारी शीर्षकमा करको व्यवस्था गरिएको हो।

वैदेशिक पर्यटनअन्तर्गत अब वैदेशिक भ्रमणको प्याकेज खरिद गर्दा लाग्ने शुल्कमा ५ प्रतिशत कर तिर्नुपर्ने छ।

यस्तै सरकारले ‘लक्जरी’ करका नाममा होटलको सेवा लागत पनि बढाएको छ। तारे स्तरका होटलमा बस्ने ग्राहक र त्यहाँ सेवा लिनेलाई पनि यस्तो कर लाग्नेछ। अब जम्मा तिर्नुपर्ने रकममा ग्राहकले थप २ प्रतिशत लक्जरी कर तिर्नुपर्छ। यो रकमसहितको कुल रकममा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ।

त्यस्तै दस लाख रूपैयाँभन्दा बढीको गरगहना (हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गहना) किन्नेले पनि लक्जरी कर तिर्नुपर्ने भएको छ।

यदि कुनै व्यक्तिले दस लाख रूपैयाँभन्दा धेरै गरगहना किन्यो भन्ने अरू करबाहेक थप २ प्रतिशत लक्जरी कर तिर्नुपर्नेछ।

त्यसैगरी वैदेशिक रोजगारी कर पनि लागू हुँदैछ। वैदेशिक रोजगार व्यवसायी तथा म्यानपावर कम्पनीहरूले श्रमिकहरूबाट उठाउने सेवा शुल्कमध्ये एक प्रतिशत रकम वैदेशिक रोजगार करका रूपमा तिर्नुपर्ने व्यवस्था गरिएको हो।

अहिले म्यानपावर कम्पनीले दस हजार रूपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। तर, नियमन हुन नसक्दा मनलाग्दी, एक-डेढ लाख रूपैयाँसम्म शुल्क बुझाउनुपरेको गुनासो वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको छ।

श्रमिकबाट लिइने शुल्कमध्ये एक प्रतिशत सरकारी खातामा ल्याउने व्यवस्था सरकारले गरेको हो।

त्यस्तै सरकारले हवाई टिकटमा पनि भ्याट लागू गरेको छ। यससँगै हवाई भाडा ६ प्रतिशसम्मले बढ्ने भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *