बिम्स्टेक परराष्ट्रमन्त्रीहरूको रिट्रिट बैङ्ककमा सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्रमन्त्रीहरूको रिट्रिट थाइल्याण्डको बैङ्ककमा सोमबार सम्पन्न भएको छ।

रिट्रिमा नेपालसहित बिम्स्टेकमा आबद्ध सात सदस्य राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरू सहभागी भएका थिए।

नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद रिट्रिटमा सहभागी भए। उनी रिट्रिटमा भाग लिन आइतबार थाइ एयरवेजबाट बैंकक गएका थिए भने मङ्गलबार स्वदेश फर्कनेछन्।

रिट्रिटमा बिम्स्टेक क्षेत्रका परराष्ट्रमन्त्रीहरूले आफ्ना समकक्षीहरूसँग साझा हितका विषयमा छलफल गरेका छन्।

रिट्रिटमा सहभागी भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करका अनुसार रिट्रिट बिम्स्टेक राष्ट्रहरूले सामना गरिरहेका चुनौतीहरूलाई प्रतिबिम्बित गर्दै आपसमा समन्वय र सहकार्य बलियो बनाउनमा केन्द्रित थियो।

उनले विकास र समृद्धिलाई प्रवर्द्धन गर्नु मुख्य उद्देश्य भएकाले त्यसलाई अगाडि बढाउन थप भेटवार्ता गर्दै जाने सहमति आफूहरूबीच भएको बताएका छन्।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो। प्रारम्भिक रूपमा यो सङ्गठन ‘बिम्स्टेक’ (बङ्गलादेश-भारत-श्रीलङ्का-थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो।

सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रूअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई बिम्स्टेकका रूपमा चिनिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *