किसानको उत्पादन, सहकारीको बजारीकरण

२०६४ मा बागलुङको गलकोटमा रहेको हटिया बजारस्थित शिवालयको चौरबाट सुरु भएको गौमुखी कृषि विकास सहकारी अहिले गलकोटकै अब्बल सहकारीमा गनिन्छ । सहकारीको लक्ष्य, मूल्य र मान्यताबाट परिचालित गौमुखी सहकारी अहिले आफ्नै सुविधासम्पन्न भवन, आफ्नै कृषि फार्म र आफ्नै हाटबजार छ ।

सहकारीमार्फत कृषिउपजको बजारीकरणका लागि सहकारीले आफ्नै सवारीसाधनसमेत खरिद गरेको छ । बचत तथा ऋण कारोबार, रेमिट्यान्टस, गौमुखी कृषि फार्म, कृषिउपजको बजारीकरण गर्दै आएको सहकारीले किसानको कृषिउपजलाई बजारीकरणको ग्यारेन्टी गर्ने उद्देश्य कृषि हाटबजार सञ्चालनको अन्तिम तयारीमा जुटेको छ ।

गलकोट नगरपालिका– ३, सिमखेतमा हालै आफ्नै भवनबाट सञ्चालित गौमुखी कृषि विकास सहकारीले चार रोपनी जग्गा भाडामा लिएर २०७४ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै गौमुखी कृषि विकास सहकारीका अध्यक्ष शिवकुमारी खत्रीले बताइन् ।

‘विसं २०६४ मा शिवालयको चौरमा झोलामा बचत सङ्कलन गरेर सुरु गरेको सहकारीको आफ्नै घर, कृषि फार्म, हाटबजार र कृषिउपजको बजारीकरण गर्ने आफ्नै सवारीसाधन छ,’ उनले भनिन्, ‘निकै सङ्घर्ष र मिहिनेतका कारण कृषि सहकारी यो अवस्थामा आइपुगेको छ, किसानले उत्पादन गरेको कृषिउपज हाटबजारमा बिक्री गर्ने लक्ष्य लिएका छौँ, हाटबजारमा बिक्री नभएको कृषिउपज सहकारीले खरिद गरेर बजारीकरण गर्छ, कृषिउपजको बजारको ग्यारेन्टी गरेपछि गलकोटका किसान उत्साहित भएका छन् ।’

अहिले गौमुखी कृषि विकास सहकारीको गलकोट नगरपालिका–६ किम्बोटमा चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती छ । तरकारी खेतीका लागि पाँच अत्याधुनिक हाइटेक प्रविधिका प्लाष्टिक टर्नेल स्थापना गरिएको अध्यक्ष खत्रीको भनाइ छ । टर्नेलमा गोलभेँडा, काउली, बन्दा, साग, बोडी, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारीखेती गरिँदै आएको छ । गत वर्ष मात्रै सहकारीले आफ्नो फार्ममा उत्पादन गरेको तरकारी बिक्रीबापत रु सात लाख आम्दानी गरेको थियो ।

सहकारीले गौमुखी कृषि फार्म सञ्चालनका लागि जग्गा भाडामा लिएको छ । उक्त जग्गाको वार्षिक ३६ हजार रुपैयाँ भाडा तिरेर तरकारीखेती गर्दै आएको गौमुखी कृषि विकास सहकारीले जनाएको छ । सहकारीको कृषिउपजलाई बजारको ग्यारेन्टी गर्ने मुख्य लक्ष्य रहेको भए पनि बचत तथा ऋण र विप्रेषणको समेत कारोबार गर्दै आएको सहकारीका प्रबन्धक खिमबहादुर सहानीले बताए । उनका अनुसार सहकारीले महिला किसानसँग बढी कारोबार गर्नुका साथै कृषिउपजका लागि समेत ऋण लगानी गर्दै आएको छ ।

सहकारीले १ करोड ५० लाख लगानीमा हटियाको सिमखेतमा सहकारीका नाममा जग्गा खरिद गरेर दुईतले पक्की भवन निर्माण गरेको छ । दश कर्मचारी रहेको सहकारीमा कृषिउपज सङ्कलन कक्ष र बजारीकरणका लागि यातायातको समेत सुविधा छ ।

‘महिलाले नेतृत्व गरेको सहकारीमा ७० प्रतिशत महिला सहभागिता छ, सहकारीमा १ हजार ८ सय शेयर सदस्य छन्,’ उनले भने, ‘कृषिउपजको बजारीकरणको जिम्मा लिन थालेका छौँ, यो महिनादेखि कृषि हाट बजार सञ्चालन गर्छौं, भाडाको जग्गामा १३ वटा सटर बनाएर हाटबजार सञ्चालन गर्ने तयारी छ, हाट बजारमा किसानले कृषिउपजको बजारीकरण गर्नेछन् । बिक्री नभएको कृषिउपज सहकारीले खरिद गर्नेछ ।’

सहकारीमा हाल १ करोड ९८ लाख शेयरपुँजी छ भने सहुलियत ब्याजदरमा किसानलाई ऋण लगानी गरिँदै आएको छ । सहकारीले हाल १७ करोडको वार्षिक कारोबार गर्दै आएको छ । हटिया बजारको शिवालय चौरमा बसेर महिनाको तीन दिन कारोबार गर्ने सहकारीले अहिले कृषिउपजको सङ्कलन र बजारीकरणमा जिल्लाकै अब्बल सहकारीका रूपमा मान्यता पाएको छ । सहकारीले कृषि क्षेत्रको उत्पादन बढाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा किसानलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर