प्रस्तावित ६ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरू

रिक्त ७ मध्ये प्रस्तावित ६ राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। गत मंगलबारको मन्त्रिपरिषद बैठकले राजदूतमा नियुक्तिका लागि सिफारिस गरेकाहरूको सुनुवाइ प्रक्रिया सुरू भएको हो।

संसदीय सुनुवाइ समितिमा सोमबार राजदूत सिफारिसको पत्र प्राप्त भएपछि संसदीय सुनुवाइ समितिले बुधबार बैठक बोलाएको छ। समितिले सर्वप्रथम प्रस्तावित राजदूतहरूको १० दिने उजुरी आह्वान गर्नेछ। उजुरी लिने काम भएपछि उजुरीहरू भएमा उजुरीकर्तासँग छलफल गर्ने र प्रस्तावित राजदूतसँग उजुरीबारे स्पष्टीकरण लिने तथा भावी कार्ययोजनाबारे जानकारी लिने काम गरेपछि उनीहरूको नाम अनुमोदन गर्ने नगर्ने निर्णय गरिन्छ। समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदूतलाई नियुक्ति दिइन्छ।

सरकारले राजदूत सिफारिस गरेका ६ जना करियर डिप्लोम्याट हुन्। उनीहरू सबै परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

सरकारले संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्यूयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस गरेको छ। हाल उत्तरपूर्वी एशिया महाशाखा प्रमुख रहेका थापा यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए।

राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन्। दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका सुवेदी हाल परराष्ट्रमा दक्षिण एशिया महाशाखा प्रमुख छन्।

हाल प्रमुख शिष्टाचार महापाल रहेका सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन्।

सहसचिव धनबहादुर ओली थाइल्याण्ड, तेजबहादुर क्षेत्री यूएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन्। सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेको छैन। कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुंगाना स्वदेश फर्किसकेका छन्।

हालै न्यूयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, यूएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर