आईजीपीले ‘पिक’ गरेका १० प्रहरी : प्रतिआतंकवाददेखि प्रविधिसम्म अब्बल

प्रहरी संगठनमा रहेर अपराध अनुसन्धान तथा नियन्त्रणमा विशेष भूमिका खेल्ने १० जना प्रहरी कर्मचारी सोमबार विशेष बढुवामार्फत एक तह माथि पुगेका छन्।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उनीहरूले गरेको योगदानस्वरूप उनीहरूलाई विशेष बढुवा गरेका हुन्।

प्रहरी नियमावली, २०७१ को दफा ३९ मा विशेष बढुवासम्बन्धी प्रावधान छ। जसमा एक आर्थिक वर्षमा अधिकतम १० कर्मचारीलाई राजपत्रअनंकित पदसम्म एक तह बढुवा गर्न सकिने प्रावधान छ। सोहीअनुसार असार ३१ को प्रहरीको नीतिनिर्माण समितिको बैठकले उनीहरूको विशेष बढुवा गरेको हो।

नियमित बढुवा सामान्यतया ज्येष्ठताका आधारमा हुनेमा यस्तो विशेष बढुवामा ज्येष्ठता नभई उनीहरूको कामलाई मात्र आधार बनाइन्छ । देशभरिबाट एक सयभन्दा धेरै प्रहरी विशेष बढुवाका लागि सिफारिस भएकामा १० जना बढुवामा परेका हुन्।

प्रतिआतंकवाद, मानव तस्करी, सुन तस्करी नियन्त्रणदेखि प्रविधिमा अब्बल प्रहरी कर्मचारी विशेष बढुवामा परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अर्जुन सेट्ठी प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन्।

उनी काठमाडौंका चर्चित हत्याकाण्डदेखि नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई समेत पक्राउ गर्न खटिएका थिए। विभिन्न १२ वटा ठूला अपराधको अनुसन्धानामा पुर्‍याएको योगदानको मूल्यांकन गरी प्रहरी प्रधान कार्यालयले पुरस्कारस्वरूप उनलाई सईमा बढुवा गरेको हो।

कपनकी निरू पाण्डेको हत्यामा संलग्न अभियुक्तको पहिचान खुलाउन उनकै प्रमुख भूमिका थियो। त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउदेखि काठमाडौंका विभिन्न हत्याकाण्डमा अभियुक्त पक्राउमा सेट्ठीको विशेष भूमिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अदालतबाट दोषी ठहर भएका २१ जना अपराधीलाई पक्राउ गर्न समेत  उनी खटिएका थिए।

प्रहरी सहायक हवल्दार भुदरमणि जोशी प्रहरी हवल्दारमा बढुवा भएका छन्। उनले विमानस्थलमा करोडौं मूल्य बराबरका तस्करीका सुन बरामद गराएका छन्। पछिल्लो पटक गत १५ जेठमा एक भारतीय एक किलो सुनसहित पक्राउ परे।

विगतमा सात करोड बराबरको नक्कली भारू बरामद गरी पाकिस्तानी नागरिकलाई पक्राउ गर्ने काममा पनि उनको भूमिका थियो। २९ फागुन ०७८ मा दुई चिनियाँलाई करिब पाँच किलो सुनसहित पक्राउ गरेका थिए। विमानस्थलका ठूला १७ वटा अप्रेसनमा उनी संलग्न थिए।

यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायब निरीक्षक तिलराम बोहरा सार्की, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल शाखामा कार्यरत असई वामदेव घिमिरे, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत हवल्दार सविर अलि अन्सारीको पनि विशेष बढुवा भएको छ।

विशेष बढुवा पाउनेमध्ये पाँच जना सहायक हवल्दार हुन्। सोलुखुम्बुमा कार्यरत सुवास नेपाली, सीआईबीमा कार्यरत लक्ष्मण सापकोटा, विमानस्थलमा कार्यरत भुदरमणि जोशी, गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत गनकुमार खण्डलुक र प्रहरी प्रधान कार्यालयमा कार्यरत उपेन्द्र चौधरीको सहायक हवल्दारबाट हवल्दारमा बढुवा भएको हो।

मानव बेचबिखन ब्यूरोमा कार्यरत प्रहरी जवान लोचन अधिकारी पनि विशेष बढुवामार्फत हवल्दार भएका छन्।

यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विगत २८ वर्षदेखि प्रशिक्षकका रूपमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) तिलराम बोहरा सार्की वरिष्ठ प्रहरी नायब निरीक्षक (सिनियर सई) मा बढुवा भएका छन्। उनलाई धेरै प्रहरी अधिकारीले ‘गुरूबा’ का रूपमा चिन्ने गर्छन्। प्रशिक्षण कार्यमा महत्त्वपूर्ण भूमिका निभाएबापत उनको विशेष बढुवा भएको हो।

विशेष ब्यूरोमा कार्यरत रहँदै आएका वरिष्ठ हवल्दार सविर अलि अन्सारीले पनि ठूला अपराधको अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तरदेशीय संगठित अपराधको अनुसन्धानमा उनी खटिँदै आएका छन्। उनी असईमा बढुवा भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत हवल्दार लक्ष्मण सापकोटा वरिष्ठ हवल्दारमा बढुवा भएका छन्। ब्यूरोमा उनले अदालतबाट दोषी ठहर भई फरार रहेका अपराधी पक्राउमा योगदान दिएका थिए।

गण्डकी प्रदेश प्रहरी गण, पोखरामा कार्यरत गनकुमार खण्डलुक खोँच तथा भिरमा फसेका तथा मृत्यु भएका व्यक्तिहरूको उद्धारमा खटिँदै आएका छन्। सातवटा घटनामा उनले उद्धार गरेका आधारमा उनी हवल्दारमा बढुवा भएका हुन्।

इलाका प्रहरी कार्यालय नाम्चे, सोलुखुम्बुमा कार्यरत सहायक हवल्दार सुवास नेपाली हवल्दारमा बढुवा भएका छन्। उच्च हिमाली क्षेत्रमा मृत्यु भएका र हराएकाहरूको उद्धारमा सक्रियताका साथ काम गरेको र विभिन्न अपराधको अनुसन्धानमा खेलेको भूमिकाका आधारमा उनी विशेष बढुवामा परेका हुन्।

अख्तियारमा कार्यरत असई वामदेव घिमिरे घुससहित पक्राउ गर्ने स्टिङ अप्रेसनमा निभाएको भूमिकाका आधारमा पुरस्कृत भई सईमा बढुवा भएका हुन्।

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका उपेन्द्र चौधरी हवल्दारमा बढुवा भएका छन्। त्रुटिरहित ढंगले प्रहरी कर्मचारीको विवरण राख्ने कामका आधारमा उनी बढुवा भएका हुन्।

उनले नेपाल प्रहरीमा प्रयोगमा रहेको पीएमआईएस सफ्टवेयरलाई डेस्कटप बेस्ड अफलाइन भर्जनबाट वेब बेस्ड सिस्टममा अपग्रेड गर्न सुरूदेखि नै सफ्टवेयर बनाउने कम्पनी सांग्रिला ग्रुपसँग समन्वय गरी प्रभावकारी सफ्टवेयर बनाउने, सफ्टवेयर अपडेटका क्रममा मोड्युलहरूको टेस्टिङ तथा डाटा भेरिफिकेसन गर्नेलगायत कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेका थिए।

मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी जवान लोचन अधिकारी सहायक हवल्दारमा बढुवा भएका छन्। भारतको कोठीमा लगेर नेपाली महिला बिक्री गर्ने तथा ओमानमा मानव तस्करी गर्ने प्रतिवादीलाई उनले पक्राउ गरेका थिए। मिर्गाैला तस्करीमा संलग्न दुई जनालाई पनि उनले पक्राउ गरेका थिए। मानव बेचबिखन मुद्दाका नौ प्रतिवादीलाई पक्राउ गरेका आधारमा उनको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर