अल्पविकसित देशलाई सहयोग गर्न उपाध्यक्ष श्रेष्ठको विश्व समुदायलाई आग्रह

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडीसी) लाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

अमेरिकाको न्यूयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसिलाई सहयोगको खाँचो रहेको बताएका छन् । उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गरेका हुन् । यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका थियो । उक्त फोरममा विभिन्न देशका मन्त्रिस्तरीय प्रतिनिधिको सहभागिता छ ।

उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावबारे प्रकाश पार्दै अल्पविकसित राष्ट्रमा दिगो विकास लक्ष्यका योजना र कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए । उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन नेपाली टोली गत असार २८ गते अमेरिकाको न्यूयोर्क पुगेको हो ।

उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा सङ्घीय सांसद तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर