जागिर दिने भनेर किशोरीलाई विमानस्थलबाट लागुऔषध ओसार्ने काम, एक पक्राउ

एक १६ वर्षकी किशोरीलाई जागिर दिने भनेर विमानस्थलबाट लागुऔषध ओसार्ने काममा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्। किशोरी स्वयं विमानस्थलमा लागुऔषधसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो।

पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका-५ घर भएका २७ वर्षीय फैज उल्लाह शाह रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।

उनका अनुसार कक्षा १२ को परीक्षा दिएर बसेकी किशोरीलाई जागिर दिन्छु भनेर शाहले विमानस्थलबाट लागुऔषध ओसार्ने काममा लगाएको खुलेको छ।

क्यालिफोर्नियाबाट पार्सलमा आएको गाँजा रिसिभ गर्न शाहले किशोरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा पठाएका थिए। असार ३१ मा किशोरी २ किलो गाँजासहित पक्राउ परेपछि फैजको संलग्नता खुलेको हो।

फैज उल्लाह शाह यसअघि पनि क्यालिफोर्नियाबाट काठमाडौंमा आएको ८ किलो गाँजा कारोबार गरेको आरोपमा पक्राउ परेर छुटेका थिए। २०७९ चैतमा पक्राउ परेका उनी १ लाख २० हजार धरौटीमा छुटेपछि पुनः कारोबारमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार किशोरी काठमाडौंको एउटा ‘जब सोलुसन एजेन्सी’ मा कार्यरत थिइन्। रिसेप्सनमा काम गर्ने उनलाई पहिले फैजले फोन गरेर कामदार पठाउन आग्रह गरेका थिए।

किशोरीले पठाएको कामदार भएन, उनी आफैंलाई २० हजार रूपैयाँ तलबसहित जागिर दिन्छु भनेर फैजले ती किशोरीलाई बोलाए।
जब सोलुसन एजेन्सीमा भन्दा धेरै तलब पाउने भएपछि उनी फैजसँग काम गर्न तयार भएकी थिइन्।

फैजले नागरिकताको फोटोकपी लिएर कार्ड बनाइदिने र विमानस्थलबाट चकलेट तथा सजावटका सामान रिसिभ गर्ने काम गर्नुपर्ने बताएका थिए।

असार ३१ मा उनले किशोरीलाई परिचयपत्र लिन बोलाएर आईडी कार्ड लिएर जान र विमानस्थलबाट सामान पनि लिएर आउन भनेका थिए।

उनले दुई हजार रूपैयाँ ट्याक्सी भाडा दिए। किशोरीकै नाममा पार्सल आएको थियो। पार्सल रिसिभ गर्दा किशोरी पक्राउ परेकी हुन्। त्रिभुवन विमानस्थलको कार्गो कम्प्लेक्सबाट पक्राउ गरेर किशोरीलाई बयान लिँदा फैजको संलग्नता खुलेको हो।

पक्राउ परेका फैजविरूद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *