गुजरातका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान

भारतमा जी २० सम्मेलनमा सहभागी भइरहेका अर्थमन्त्री डा प्रकाशशरण महतले भारतीय व्यापारिक सहर गुजरातका उद्योग व्यवसायीहरुलाई नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।

भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए ।

नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उनले बताएका थिए ।

नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटन समेत आकर्षक क्षेत्र रहेको , कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको , प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भइ लगानी गर्न सकिने उनको भनाई थियो ।

नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्न सक्ने , भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धि क्षमता समेत बढ्न सक्ने सम्भावना रहेको अर्थमन्त्री महतले बताएका थिए ।

गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष संदिप ईन्जिनियरले गुजरातका उद्योगी व्यवसायिहरू नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न ईच्छुक रहेको बताउदै त्यसकोलागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे ।

कार्यक्रममा अर्थ मन्त्रालय र दिल्ली स्थित नेपाली दुताबासका अधिकारीहरूले लगानी सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर