स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा सन्तोषकुमार देवकोटा

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोषकुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन्।

देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमका बीच स्वागत गरेको छ। देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ।

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए। उनी हाम्रो पात्रोको पूर्वसंस्थापक एमडीका साथै नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजम’ का संस्थापक निर्देशकसमेत हुन्। २०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए। एक दशकयता भने उनी डिजिटल मिडिया विज्ञका रूपमा सक्रिय छन्।

टेलिभिजन मिडियाहरूको भीडमा एक वर्षअघि प्रसारण सुरू गरेको स्पेस फोरके टेलिभिजनले पछिल्लो समय व्यवस्थापन, समाचार तथा प्रोडक्शनमा दक्ष जनशक्ति नियुक्त गरिरहेको छ। सत्यतथ्य र अनुसन्धानमा आधारित सामग्री प्रसारण गर्ने उद्घोषसहित स्पेस फोरकेले गत भदौ ८ गतेदेखि आफ्नो प्रसारण सुरू गरेको थियो। त्यसको ठीक एक महिनापछि काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी टेलिभिजन र प्रसारणबारे सार्वजनिक जानकारी गराएको थियो।

पछिल्लो समय स्पेस फोरके टेलिभिजनमा प्रसारण भएका सामग्री हेर्दा टेलिभिजन भ्रष्टाचारविरूद्धको अभियानमा केन्द्रित हुन खोजेको देखिन्छ। देवकोटाका अनुसार भ्रष्टाचारविरूद्धको एजेण्डाका कारण उनी स्पेस फोरकेतर्फ आकर्षित भएका हुन्। टेलिभिजन र डिजिटल प्लाटफर्मलाई सिर्जनात्मक ढंगले नयाँ कोणबाट एकाकार गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए।

मनोरञ्जनात्मक कार्यक्रम र समाचार तथा समाचारमूलक कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजनमा देवकोटाले व्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रवर्द्धनमा काम गर्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *