पूर्वी नाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २४ करोड १५ लाख १३ हजार रूपैयाँ मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ।

आव २०७८/७९ मा सोही अवधिमा चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार रूपैयाँ मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो। गत आवको तुलनामा आव २०७९/८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो। अर्थात् तुलनात्मक रूपमा तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार रूपैयाँ मूल्य बराबरको अलैँची निर्यात वृद्धि भएको छ।

यसैगरी गत आवको तुलनामा आव २०७९/८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ। आव २०७९/८० मा तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार रूपैयाँ मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।

उनले अघिल्लो वर्षको तुलनामा ५५ करोड २३ लाख ४२ हजार रूपैयाँ मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए। आव २०७८/७९ मा दुई अर्ब ८७ करोड ४६ लाख १० हजार रूपैयाँ मूल्य बराबरको एक करोड १७ लाख १३ हजार छ सय ५९ केजी चिया निर्यात भएको थियो।

अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ। आव २०७९/८० मा ६३ करोड ९२ लाख २९ हजार रूपैयाँ मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार नौ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा ३० करोड २३ लाख छ हजार रूपैयाँ मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ। आव २०७८/७९ मा ३३ करोड ६९ लाख २३ हजार रूपैयाँ मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो।

अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ। यसैगरी आव २०७९/८० मा ८६ करोड ४३ लाख रूपैयाँ मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ। प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा २३ करोड ५३ लाख १९ हजार रूपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ। आव २०७८/७९ मा ६२ करोड ८९ लाख ८१ हजार रूपैयाँ मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो। अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ।

प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक
पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ। गत आवको तुलनामा आर्थिक वर्ष २०७९/८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ९९ करोड १० लाख ११ हजार रूपैयाँ मूल्य बराबरको प्लाइउड निकासी भएको छ। जबकि आव २०७८/७९ मा १० करोड ८० लाख ५७ हजार रूपैयाँ मूल्य बराबरको प्लाइउड निकासी भएको थियो।

यसैगरी आव २०७९/८० मा एक अर्ब १० करोड ८१ लाख ११ हजार रूपैयाँ मूल्य बराबरको छुर्पी निकासी भएको छ। जबकि आव २०७८/७९ मा आठ करोड ४३ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको छुर्पी निकासी भएको थियो। कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पीजस्ता कृषिजन्य वस्तुको उत्पादन हुने गरेको छ।

पहाडी जिल्लामा कच्चा पदार्थ उत्पादन भए तापनि अलैँची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्राण्डिङ भने झापामा हुँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *