ओरालो यात्रामा चिनियाँ अर्थतन्त्र

बिग्रँदै गएको आर्थिक सन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ। गत मे महिनाका निराशाजनक तथ्यांकले यही देखाउँछन्। न्यून खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई संकेत गर्छ।

मे महिनामा चीनको खुद्रा बिक्री ३.१ प्रतिशतले बढ्यो, जुन अघिल्लो महिनामा १२.७ प्रतिशत थियो। औद्योगिक उत्पादनमा झिनो सुधार आएर ३.५ प्रतिशतबाट ४.४ प्रतिशत पुगे पनि माग सुस्त रह्यो ।

सन् २०२३ को पहिलो छ महिनामा सरकारी स्वामित्वका उद्यमहरूको लगानी ८.१ प्रतिशतले बढे पनि निजी क्षेत्रको स्थिर सम्पत्ति लगानी ०.२ प्रतिशतले संकुचित भएको छ जसले निजी क्षेत्रको व्यावसायिक विश्वास गुमेको संकेत गरेको छ।

गत जुनमा चीनको निर्यात पनि १२.४ प्रतिशतले घटेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ। विकसित देशहरूमा उच्च मुद्रास्फीति र भूराजनीतिक अवस्थाका कारण चीनको वैदेशिक व्यापारले वर्षको अन्त्यतिर समस्याको सामना गर्नुपर्ने परिस्थिति उत्पन्न हुन सक्छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को प्रवाह पनि वर्षको पहिलो पाँच महिनामा ५.६ प्रतिशतले घटेको छ।

चीनमा व्यापार गर्नु जोखिमपूर्ण छ भन्ने धारणाले यहाँ पुँजीको प्रवाहलाई संकुचित गरेको हो कि भन्ने देखाउँछ। एमएससिआई चाइना इन्डेक्सले चिनियाँ कम्पनीमा विदेशी लगानी ६ प्रतिशतले घटेको देखाएको छ। इक्विटी बजारले पनि विश्व बजारको तुलनामा कमजोरी देखिएको छ, जसले आर्थिक वृद्धिलाई कमजोर बनाउन सक्ने देखिन्छ।

चिनियाँ अर्थतन्त्रले जनसांख्यिक लाभांश लिन नसकेको देखिन्छ। सरकारको ‘साझा समृद्धि’ नीति र उपभोग वृद्धि गर्ने प्रयासलाई कुल गार्हस्थ उत्पादनको करिब ३५० प्रतिशतको हाराहारीमा रहेको मुलुकको कुल ऋणको उच्च जोखिमका कारण संरचनात्मक आर्थिक सुधार चुनातीपूर्ण भएको छ।

यद्यपि, राष्ट्रपति सी जिनपिङको नेतृत्वमा रहेको सरकारले सुस्त अर्थतन्त्रको समाधान खोज्न आवश्यक कदम र उपकरण परिचालन गर्ने ठानिएको छ। राज्यको स्वामित्वमा रहेका उद्यमहरूको विकास तथा उत्पादकत्व वृद्धिका निम्ति राष्ट्रपति सीले दिएका जोडले आर्थिक वृद्धिलाई भरथेग गर्ने सम्भावना क्षीण छ।

यसै महिनाको अन्त्यमा हुने पोलिटब्युरो बैठकमा शीर्ष नेताहरूले ठोस कार्ययोजना ल्याएर आर्थिक वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *