बहुआयामिक प्रतिभाका धनी स्व. बखतबहादुर चित्रकारको स्मृतिग्रन्थ लोकार्पण

बहुआयामिक प्रतिभाका धनी स्व बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । स्व चित्रकारको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा चित्रकारको परिवारद्वारा प्रकाशन गरिएको ‘बखतबहादुर शब्दचित्र स्मृति ग्रन्थ’ आज विमोचन गरिएको हो ।

राष्ट्रिय समाचार समिति (रासस)का आलेख समाचार प्रमुख कृष्ण अधिकारीको लेखनमा आएको उक्त स्मृति ग्रन्थमा लेखकले बखतबहादुरसँग गरेको कुराकानी, आलेख, उनका केही लेख र अन्तर्वार्ता, उनीबारे विभिन्न व्यक्तित्वले लेखेका लेख तथा तस्बिरहरू समावेश गरिएको छ ।

राजधानीकै बासिन्दा भएर पनि आर्थिक अवस्था कमजोर भएका स्व बखतबहादुरले गरेका सङ्घर्षलाई पुस्तकमा समावेश गरिएको छ । काठमाडौँको सामान्य परिवारमा जन्मनुभएका स्व चित्रकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको साहित्यकार चेतनाथ कँडेल बताउँछन् ।

विसं १९८७ माघ १८ मा काठमाडौँको याट्खा टोलमा जन्मनुभएका स्व बखतबहादुरले नेपालमा दश जोड दुई शिक्षा प्रणालीको आरम्भ गरेका थिए ।

चलचित्र संस्थानका जन्मदाता उनले थेरवादी केन्द्रीय दायक परिषद् (विसं २०४९) का अध्यक्ष, चित्रकार (पुँ) समाजका संस्थापक अध्यक्ष, नेपालमा व्यवस्थित ढङ्गबाट बुद्धजयन्ती मनाउने कामको थालनी, विजयादशमीका दिन ‘शस्त्रास्त्र परित्याग दिवस’को सुरुआतकर्ता, इन्द्राणयी मन्दिर, काठमाडौँमा ‘अशोक स्मृति चैत्य’ स्थापनाकर्ता, थेरवादी बुद्ध विहार, लुम्बिनीमा पाली, नेपाली र अङ्ग्रेजीमा ‘धम्मपद’ उत्कीर्णकर्तालगायतका सामाजिक काम गरेका थिए ।

स्व चित्रकारसँग निकट रहनुभएका प्राडा भीमदेव भट्ट बखतबहादुर लगनशील, अध्ययनशील व्यक्ति भएको बताउँछन् । ‘बखतबहादुर सबैको आदरणीय व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको योगदानलाई नयाँ पुस्तासम्म लैजानुपर्छ,’ उनी भन्छन् ।

देवीदेवताका चित्र कोर्ने तथा रङरोगन गर्ने परिवारमा जन्मेका बखतबहादुरले राणाशासन, पञ्चायतकाल र बहुदलीय गणतान्त्रिक सबै व्यवस्था भाेगे भने राजनीति, अध्यात्म, शिक्षा, सञ्चार, चलचित्र, फोटोग्राफी, सिनेमेटोग्राफीजस्ता एकापसमा सम्बद्ध–असम्बद्ध विषयमा संलग्न भए ।

चलचित्र निर्माणमा फोटोग्राफी र क्यामेराको कामको निरीक्षण वा निर्देशन तथा क्यामेरा सञ्चालनसम्बन्धी अध्ययन गरेका बखतबहादुर नेपालको पहिलो सिनेमेटोग्राफरसमेत हुन् । वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल बखतबहादुरले नेपालको फोटोग्राफी क्षेत्रमा क्रान्ति नै ल्याइदिएको बताउँछन् । ‘मैले बखतबहादुरको पुस्तक पढेर फोटोग्राफीका बारेमा धेरै सिक्ने र बुझ्नै मौका पाएँ,’ उनी भन्छन् ।

नेपाल सरकारको ३५ वर्ष लामो निजामती सेवा गरी सहसचिवबाट अवकाशप्राप्त उनका ‘फोटोग्राफी’ (२०४३) र ‘नयाँ नेपालको समावेशी धर्म’ (२०६४) पुस्तकका साथै ‘शिक्षक’ र ‘गाउँ विकासमा प्रौढ शिक्षा’ शीर्षकका वृत्तचित्र पनि प्रकाशनमा रहेका छन् । थेरवाद बौद्ध दायक केन्द्रीय परिषद्का उपाध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति बौद्ध धर्मको प्रचार–प्रसारमा स्व बखतबहादुरको ठूलो योगदान रहेको बताउँछन् ।

साहित्यकार एवं समाजसेवी भारती सिलवाल गिरी स्व बखतबहादुरको स्मृति ग्रन्थ नयाँ पुस्ताका लागि मार्गदर्शन बन्ने बताउँछिन् । ‘बखतबहादुरले गरेका योगदानलाई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ,’ उनी भन्छिन् ।

स्व बखतबहादुरका छोरा रवि, शशि र छोरी भावनाले नौ दशक लामो जीवनमा बुबाले पाएको ज्ञान, सीप, सिकाइ र अनुभवलाई नयाँ पुस्तासम्म लैजाने योजनाका साथ पुस्तक प्रकाशनमा ल्याइएको बताए । तीन सय ७२ पृष्ठ लामो उक्त पुस्तकमा विभिन्न राजनीतिक दलका नेता र उनी निकट रहेका विभिन्न व्यक्तिले स्व बखतबहादुरका बारेमा आफ्नो अनुभवबारे लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर