यी हुन् गत आर्थिक वर्षमा धेरै कमाउने सात नेपाली फिल्म

चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी फिल्मले गरेको कमाइको तथ्यांक सार्वजनिक गरिएको छ । सो तथ्यांकअनुसार स्वदेशी ५७ र विदेशी ७८ फिल्म प्रदर्शन भएका छन् । स्वदेशी ५७ फिल्म प्रदर्शन भएबापत ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँको व्यापार भएको छ ।

स्वदेशी फिल्मतर्फ सर्वाधिक व्यापार गर्न सफल फिल्मको सूचीमा हेमराज विसीले निर्देशन गरेको ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ । बोर्डको विवरणअनुसार छ लाख २९ हजार सात सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ को १७ करोड ५२ लाख ९९ हजार रुपैयाँ ग्रस व्यापार भएको छ ।

हास्यकलाकारको समूहले टेलिशृंखलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत फिल्म निर्माण सुरु गरेका थिए । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृंखलालाई अगाडि बढाइरहेको छ ।

सर्वाधिक कमाइ गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेको फिल्म ‘जारी’ रहेको छ । शनिबार प्रदर्शनको सय दिन पूरा गर्ने फिल्मको गत असार ३१ सम्म बोर्डको विवरणअनुसार छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार रुपैयाँ ग्रस व्यापार भएको छ ।

सर्वाधिक कमाइ गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको ‘प्रेमगीत ३’ छ । ‘प्रेम गीत’ को तेस्रो शृंखलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । फिल्मको नेपाली भाषामा दुई लाख ६९ हजार आठ सय आठ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ६९ टिकट बिक्री भएबापत दुई करोड २७ लाखको ग्रस व्यापार भएको छ ।

चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको फिल्म ‘महापुरुष’ छ । फिल्मको दुई लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९१ हजारको ग्रस व्यापार गरेको छ ।

पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको फिल्म ‘दुई नम्बरी’ को एक लाख ४१ हजार सात सय १३ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७५ हजारको ग्रस व्यापार भएको छ ।

यस्तै छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’ को एक लाख २६ हजार पाँच सय ४९ टिकट बिक्री भएबापत तीन करोड ५३ लाख २० हजारको ग्रस व्यापार भएको छ ।

सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौँै स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘भिंmगेदाउ’ को एक लाख २२ हजार तीन सय २७ टिकट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजारको ग्रस व्यापार गरेको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकले पनि दर्शकले स्वदेशी फिल्मतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर