पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भाजपाको समवेदना

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले पत्नीशोकमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति समवेदना व्यक्त गरेको छ।

एक शोक सन्देश पठाउँदै भाजपाका राष्ट्रिय अध्यक्ष जगतप्रकाश (जेपी) नड्डाले प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त र प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गरेको हो।

नड्डाले नेपालको उन्नयनका लागि सीताको प्रतिबद्धताले जनताको हृदयमा अमिट छाप छाडेको बताएका छन्।

‘यस दुःखको घडीमा तपाईं र तपाईंको परिवार मेरो विचार र प्रार्थनामा हुनुहुन्छ। भारतीय जनता पार्टी र म दुवै यस कठिन समयमा तपाईं र तपाईंको परिवारलाई हार्दिक समवेदना व्यक्त गर्दछौं,’ नड्डाले शाेक सन्देशमा भनेका छन्, ‘भगवान् पशुपतिनाथले तपाईंलाई शक्ति र दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।’

लामाे समयदेखि वशाणुगत पार्किन्सनजस्ताे राेगबाट पीडित सीताकाे गत असार २७ गते नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकाे थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *