वर्तमान सरकार बीपीको नीतिबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन्।
बीपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेकाे समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्त अनुरुप भएको दाबी गरे।
बीपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन समय समयमा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उनले आफूहरूले पनि महत्त्वपूर्ण राजनीतिक निर्णय गर्दा बीपी कोइरालालाई सम्झने गरेको बताए।
बीपी कोइरालाको सिद्धान्त अनुरू पनै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको उनकाे दाबी छ। अब सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बीपी कोइरालाप्रति सच्चा सम्मान हुने उपप्रधानमन्त्री खड्काले धारणा राखे।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको  सालिकमा माल्यार्पण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्षरोपणसमेत गरे।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली माटोमा आधारित राजनीतिक दर्शन स्थापित गर्न बीपी कोइरालाको सोच सान्दर्भिक रहेको बताए। त्यसका लागि बीपीले गरिब किसानका तस्बिर योजना आयोगमा राख्ने प्रणालीको विकास गराउनुभएको समेत उनले स्मरण गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले राष्ट्रियताका विषयमा बीपीसँग माओवादीको पनि विचार मिल्ने धारणा राखिन्। सङ्ग्रहालयमा बीपीको जीवनकालमा प्रयोग भएका चिजविज सङ्ग्रह गरिनुपर्ने उनकाे भनाइ छ।
सो अवसरमा आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ राजनीतिक दर्शन विधातर्फ कुलबहादुर गुरुङ र ढुण्डीराज शर्मा पौडेल (ढुण्डिराज शास्त्री) लाई संयुक्त रूपमा प्रदान गरेको छ। त्यसैगरी बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७९ साहित्यिक विधातर्फकाे पुरस्कार देवीप्रसाद रेग्मी र गिरिराज आचार्यलाई संयुक्त रूपमा प्रदान गरिएको छ  पुरस्कारको राशि जनही एक लाख रूपैयाँ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *