उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका लागि इटली गएपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मा मन्त्री खड्कालाई दिइएको हो।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य मन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन्।

प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ प्रचण्ड इटली भ्रमणमा गएका छन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रचण्ड इटली गएका हुन्।

उनी कतार एयरलाइन्सको उडानमार्फत इटली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ।

भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन्।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको थियो। उनी चार दिनपछि स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *