ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

बालुवाटारस्थित ललिता निवासको सरकारी हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) काे टाेलीले नापी विभागका तत्कालीन कर्मचारी अरूणकुमार श्रेष्ठलाई पक्राउ गरेकाे हाे। उनी काठमाडाैंकाे जाेरपाटीबाट पक्राउ परेका हुन्।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार ललिता निवासकाे सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नमा उनले पनि भूमिका खेलेका थिए।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न शुक्रबार सर्वोच्च अदालतले आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो।

हिरासतमुक्त गर्न माग गरेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित ३ जनाको रिट भने खारेज भएकाे थियाे।

गुरूङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलगायत भने हिरासतमै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *