प्रधानमन्त्री प्रचण्ड रोममा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली भ्रमणमा छन्।

उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका थिए।

रोम अवतरण गरेपछि उनलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटलीमा रहेको नेपालको महावाणिज्य दूतावासका मानार्थ महावाणिज्य दूत पाउलो नुगारी र इटलीको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

उनी रोमस्थित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा साेमबार हुने ‘युनाइटेड नेसन्स फूड सिस्टम्स-२०२३ स्टकटेकिङ मोमेन्ट’ मा सहभागी हुनेछन्।

अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहमा उनले सम्बोधन गर्ने कार्यक्रम छ।

हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनकी स्वकीय सचिव गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन्।

प्रधानमन्त्री दाहाल विद्यालय भोजनका बारेमा आयोजना गरिएको छलफल सत्रमा पनि सहभागी हुनेछन्। यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यसअवसरमा महत्त्वपूर्ण छलफल हुनेछ। यस्तै रोममा गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्तर्क्रियामा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्।

प्रधानमन्त्री दाहाल यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *