प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै बाबु-छाेराले ठगे ४५ लाख

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग समेत चिनजान छ भन्दै ४५ लाख रूपैयाँ बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र उनका छाेरा २३ वर्षीय विशाल खनाल छन्।

ठगीपछि फरार उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

एसपी रेग्मीका अनुसार उनीहरूले विभिन्न कम्पनीहरू तथा व्यवसायहरूमा सहभागी गराउने विश्वास दिलाएर विभिन्न कागजातहरूमा सही छाप गराई पीडितबाट उक्त रकम ठगी गरेको पाइएको छ।

साथै पीडितको ना.४ च. ८६७० नम्बरको स्करपियो जीपसमेत लिएर उनीहरू फरार भएका थिए।

उनीहरूविरूद्ध इलाका प्रहरी कार्यालय, दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्तापछि जिल्ला अदालत, भद्रपुर, झापाबाट पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, दमक पठाइएको एसपी रेग्मीले जनाकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *