राष्ट्रपति सीको नेपाल भ्रमणमा सहमती भएका योजना कार्यन्वयन मेरो भ्रमणको उद्देश्य होः चिनियाँ नेता युआन

नेपाल भ्रमणमा रहेका चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युन यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनपिङको भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताएका छन् ।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग आइतबार भएकाे शिष्टाचार भेटवार्तामा उनले यसको खुलासा गरेका हुन् ।

रक्षा मन्त्रालय, सिंहदरबारमा भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हालेकोमा बधाई दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा कावा प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे। उनले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहार्दपूर्ण एवं घनिष्ठ रही आएको उल्लेख गर्दै चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पु¥याएको सहयोगका लागि उनले धन्यवाद व्यक्त गरेका थिए ।

उनले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, शहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवं पर्यटन विकासलगायतका क्षेत्रमा सहकार्य गर्न सकिनेतर्फ विचार राखेको मन्त्रालयले जनाएको छ ।

साथै, चीनले नेपालको गरिबी न्यूनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम आफ्नो भ्रमणकै क्रममा अगाडि बढाइने कुरा उनले उल्लेख गरे। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उनले आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदानप्रदान हुने बताए ।

साथै, उनले पूर्वप्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० मार्चमा चीनको भ्रमण गरेपछि नेपाल–चीन सम्बन्ध प्रगाढ भएको उल्लेख गरेका थिए ।

पोलिटब्यूरो सदस्य युआनले नेपालको एक चीन नीतिप्रति कृतज्ञता प्रकट गर्दै नेपालको भूमि चीन विरुद्धका गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिबद्धताको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । सो अवसरमा उनले कावा प्रधानमन्त्री खड्कालाई उपयुक्त समयमा चीन भ्रमणका लागि निमन्त्रणा दिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर