‘सांस्कृतिक सेतु’ बन्दै कोलकातामा नेपाली भाषी

कोलकाता- भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ ।

उनले भने, ‘सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरू गर्न थालियो । अहिलेसम्म राम्रै भइरहेको छ ।’ पुर्ख्यौली घर रामेछाप भई पछि बसाइँ सरेर सर्लाही पुगेका र काठमाडौँमा पनि घर बनाएका उनी कोलकातास्थित ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ का ‘चेयरम्यान’ को जिम्मेवारीसहित विभिन्न सामाजिक कार्यमा पनि संलग्न छन् ।

भारतको कोलकोतामा रहेका नेपाली र नेपाली भाषी भारतीयको आर्थिक र सामाजिक अवस्थाबारे राससको जिज्ञाशामा हाल काकुरगाछी निवासी श्रेष्ठले भने, ‘मानिसले जीविका चलाएका छन् तर आगामी दिनमा भारत सरकारले नेशनल रजिष्ट्रर सिटिजन्स (एनआरसी) लागू भएपछि समस्या हुन पनि सक्ने भएकाले सजग हुनुपर्छ । अब यहाँ हाम्रा लागि स्कोप घटेको छ ।’

उनले नयाँ पुस्ताका नेपालीलाई अब यहाँ व्यवसाय वा रोजगारीमा पहिलाजस्तो फाइदा नहुने बताए । नेपालमै केही गर्न वा तेस्रो मुलुकमा गएर आफ्नो दक्षता देखाउन उनी सुझाउँछन् । श्रेष्ठको कम्पनीमा कोभिड–१९ महामारीअघि ४० नेपाली श्रमिक थिए भने हाल घटेर १३ जना मात्रै बाँकी छन् ।

कोलकोतामा नेपाली भाषी चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटेल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इञ्जिनियरिङ पेसामा समेत संलग्न छन् । अबका दिनमा दोहोरो नागरिकता लिएर दुवै मुलुकमा पेसा व्यवसाय गर्न हालसम्म समस्या नभए पनि एक मुलुकको नागरिकता त्याग्नुपर्ने जस्ता प्राबधान आएमा कानूनी समस्या पर्न सक्ने देखिन्छ ।

नेपाली भाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन् । उनीहरूले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् ।

हरेक वर्ष वडा दसैँका अवसरमा नवरात्र सुरू भएदेखि नै गोरखनाथ सेवा समितिको आयोजनामा पूजाआजा गरिँदै आएको छ । गत वर्ष समिति स्थापनाको ५० औँ वर्ष भएकाले एसएन बेनर्जी रोड, न्यू मार्केट नजिक पशुपतिनाथको अस्थायी मन्दिर बनाएर नेपालीशैलीमा दुर्गा भगवतीको मूर्ति स्थापना गरेर समाजका सबै समुदायलाई पूजा गर्ने र हेर्ने प्रबन्ध गरेको सो समितिका महासचिव नरविक्रम थापाले जनाए । थापाको सम्पादनमा हरेक दसैँका अवसरमा ‘मौलो’ पत्रिका प्रकाशन गर्दै आएको छ ।

यहाँस्थित प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरूको सहभागिता हुने गरेको छ । नेपाली जनकल्याण समितिले हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती कार्यक्रम गर्दै आएको छ भने ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ ले मानवीय कार्य गर्दै आएको छ ।

समितिले यही साउन ६ गते हावडा मैदानस्थित शरत सदनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा २१० औँ भानुजयन्ती मनाएको छ । यो समितिले ‘नौलो बिहानी’ वार्षिक पत्रिका प्रकाशन गर्दै आएको छ । खिमराज बराल अध्यक्ष रहेको भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका हरेक दुई वर्ष अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्दै आएको छ ।

जानकी माता नेपाली धार्मिक सङ्घ’ ले समय समयमा रक्तदान, होलीमिलन, स्वास्थ्य शिविर, हरेक शनिबार गरिब तथा न्यून आय भएका समुदायलाई निःशुल्क भोजन गराउँदै आएको छ । सङ्घले दुई वर्षअघि मेलम्ची बाढीपीडितलाई रु चार लाख र हालै रामेछापका मिर्गाैला पीडित नवनाराण श्रेष्ठलाई ७३ हजार रूपैयाँ सहयोगलगायतका कार्य गरेर सामाजिक सद्भावको सन्देश दिँदै आएको उक्त संस्थाका सभापति गुञ्जदास श्रेष्ठले बताए ।

यो संस्थाले आपसमा चन्दा उठाएर बारानगरमा कार्यालयका लागि घर पनि किनिसकेको छ । सामाजिक सेवाको भावनाले काम गरिरहेकाले यस संस्थालाई यहाँको सरकारले एम्बुलेन्स सञ्चालनको पनि जिम्मेवारी दिएको छ । आपत्विपत्मा परेका स्थानीयले यसबाट सेवा पाउँछन् ।

कोलकाताको ‘इलेक्ट्रिसिटी सप्लाइ कर्पाेरेशन’ मा ३४ वर्षदेखि कार्यरत बारानगर निवासी तिलकराम शर्मा यतै स्थायी बसोबास गर्न थालेका छन् । अर्घाखाँचीमा जन्मिएका शर्माका श्रीमती रमा शर्मा पौडेल नेपालको शिक्षण पेसा छाडेर श्रीमानका साथमा सामाजिक सेवाका कार्यमा सक्रिय भएकी छन् ।

तिलकराम ‘जानकी माता नेपाली धार्मिक सङ्घ’ का महासचिव र श्रीमती शर्मा जानकी माता महिला कल्याणकारी कोष’ का अध्यक्ष छन् । श्रीमती शर्माले आफूहरूले कोषबाट गर्भवती महिलालाई माइतीको अनुभूति दिलाउन दही–चिउरा खुवाउनेजस्ता कार्यक्रम आरम्भ गरिएको जानकारी दिइन् ।

संयुक्त नेपाली वेलफेयर ट्रष्टले न्यू विवेकानन्द पार्क रोडको महेशतलास्थित बेहालामा करिब भारू ३० को लागतमा पशुपतिनाथको स्थायी मन्दिर बनाउन जग्गा किनेर निर्माण कार्य सुरू गरिसकेको छ भने यहाँ भारत–नेपाल सांस्कृतिक भवन बनाउन पहल गर्ने लक्ष्य लिएको छ । मन्दिर बनाउन केशव अधिकारी क्षेत्रीको अध्यक्षतामा समिति गठन गरिएको छ ।

जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले जीवनको उर्बर समयमा यहाँ आएर अनेक दुःख हण्डर खाए पनि आफूहरूले जीवन गुजारा गर्दै सामाजिक सेवाका कार्यलाई प्राथमिकता दिने गरेको सुनाए । सिन्धुलीको बाँसकटेरी जन्मिएका थापा ११ वर्षको उमेरमा आफ्ना कान्छा मामा र दाइ नरविक्रम थापाका माध्यमबाट कोलकाता पुगेका थिए । सुरूमा औषधि पसलमा र पछि निजी विद्यालयमा सेवा गरेका बद्रीविक्रमको विवाह पश्चिम बंगालकै सपना थापासँग विवाह भयो । श्रीमती थापा यसबीचमा नेपाल आउने जाने गरेकाले नेपालको जनजीविका र संस्कारप्रति आकर्षित भएकाले बुढ्यौली जीवनमा उनी नेपालमै बस्न इच्छुक देखिएकी छन् ।

यस्तै समितिका महासचिव रामबहादुर कार्कीले आफ्ना पिताले काम गरेको भारतको श्रम मन्त्रालयमातको केन्द्रीय प्रशिक्षण संस्थानमा सेवा गर्दै आएका छन् । पुर्ख्यौली घर संखुवासभाको पुपाङ्गु भएका कार्की अवकाशपछि सुनसरीको इटहरीमा फर्किएर बस्ने योजनामा छन् । पाल्पाको गल्याङमा जन्मिएका बाबुराम शर्मा बस्याल मध्यप्रदेशको पर्यटन विभागमा ‘कुक’ को अनुभव लिएर अवकाश लिइसकेका छन् । उनले दिल्ली, उडिसालगायतका सहरमा दुःखका साथ काम गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिएकाले उनीहरूलाई त्यस्तो दुःख नहुने विश्वास व्यक्त गरे ।

पछिल्ला वर्षमा भारतमा रहेका नेपाली र नेपालीभाषी भारतीयसँग सम्बन्ध सेतुको कार्य गर्दै आएका साहित्यकार धर्मराज बराल नेपाल सरकारले यहाँका नेपालीभाषी र नेपालीको सद्भावना वृद्धिका लागि न्यून ध्यान दिएको बताउँछन् । उनी नेपाल सरकारका संयन्त्रको हार्दिकता बढेमा दुई देशबीचको सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक सम्बन्धमा ठूलो टेवा पुग्ने ठान्छन् ।

नेपालको एक पुरानो ‘मिसन’ कोलकोतास्थित नेपाली महावाणिज्यदूतावास र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको कोलकोतास्थित शाखाले दुई देशबीचको व्यापार, पारवहन र दुईपक्षीय सम्बन्धका क्षेत्रमा कार्य गर्दै आएको छ । उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिनाले आफूहरू नेपाली र नेपाली भाषीकै हितका साथै दुईपक्षीय सम्बन्धका लागि कार्य गरिरहेको बताउँछन् । उनले तेस्रो मुलुकबाट सामान आयात र निर्यातका काम तथा यहाँ आएर कोही अलपत्र परेका वा हिरासतमा रहेका नेपाली महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार र पुनःस्थापना गर्ने कार्य गर्दै जानकारी दिए ।

‘हामीले नेपाली समुदायका नाममा रहेका विभिन्न सामाजिक संस्थालाई एकाकार गराउँदै नेपालका राष्ट्रिय दिवस र कार्यक्रममा जोड्दै आएका छौँ । नेपाली समुदायले गर्ने गरेका गतिविधिमा गक्षअनुसार सहयोग पनि गर्दै आएका छौँ,’ तिमिल्सनाले भने । महावाणिज्यदूतावासले प्रवेशाज्ञा र राहदानीका कामका साथै नेपालमा लगानी र पर्यटक भित्र्याउने कार्यको प्रवर्द्धन पनि गर्दै आएको छ । यस्तै विद्यार्थीका लागि छात्रवृत्तिमा समन्वय र आपसी अन्तक्र्रिया गर्ने पनि गर्दै आएको छ । -प्रकाश सिलवाल/रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *