मेरै सक्रियताले तस्करीको सुन बरामद भएको हो : अर्थमन्त्री महत

'मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ'

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै सक्रियताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको एक किवन्टल सुन बरामद गर्न सफल भएको बताएका छन्।

सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि तस्करीको सुन बरामद भएको बताउँदै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने प्रतिबद्धता जनाए।

नेपाल प्रेस युनियन रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

गत मंगलबार हङकङबाट भित्र्याएको तस्करीको एक क्विन्टल सुन विमानस्थल परिसरबाट बरामद भएको थियो। उक्त सुन तस्करीमा संलग्न रहेको आरोपमा हालसम्म १६ जना प्रहरी हिरासतमा छन्।

यस्तै मन्त्री महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन्। मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्रमा प्रवाह हुने लगानी बढ्ने उनको भनाइ छ।

अर्थमन्त्री डा. महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे।

मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमै ठेक्का लगाउनुपर्नेमा जोड दिए।

‘मौद्रिक नीतिले नीतिगत दर घटाएर छ दशमलव पाँच प्रतिशत तोकेको छ, यसले बैंक ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ,’ उनले भने।

अर्थमन्त्री डा. महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले पुँजीगत खर्चलाई बढाउने बित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्दा पारदर्शिता कायम भएको भन्दै यथार्थ कुरा बाहिर आएको बताए। पार्टीभित्रका धेरै भ्रम प्रत्यक्ष प्रसारणले उजागर गरेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर