विश्व खाद्य कार्यक्रम-डब्लुएफपीको नक्कली कार्यालय खोलेर ठगी

नेपालमा ठगीगर्ने समूहले समय समयमा नयाँ तरिका र शैली त अपनाउँदै आएको खुलासा भइरहेको छ । तर, एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था नै स्थापना गरेर ठगी गरेको घटना यो पहिलो हो ।

काठमाडौं प्रहरीले काठमाडौंको भीआईपी क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को कार्यालय खोली ठगी गर्ने मानिसहरु पक्राउ गरेर सोमबार सार्वजनिक गरेपछि यसको खुलासा भएको हो ।

प्रहरीका अनुसार बुढानिलकण्ठमा मासिक एकलाख ८० हजार रुपैयाँमा घरभाडामा लिएर कार्यालय खोलिएको थियो । घरधनी बिष्णुबहादुर गुरुङको २ तले पक्की घर यही जेठदेखि भाडामा लिएर कार्यालय खोलिएको थियो ।

यसरी कार्यालय खोलेर ठगीगर्नेमा कार्यालय प्रमुखर उप–सचिव जयराम केसी, कार्यालय सञ्चालक र शाखा अधिकृत पेम्बा तामाङ, जनसम्पर्क अधिकृत आकाश राई र प्राविधिक इन्जिनियर दिपेश गुरुङ संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुले आफुहरु नेपाल सरकारको कर्मचारी भएको दाबीमात्र गरेनन् केही कर्मचारीहरुलाई पछि नियुक्ती दिने गरी काममा लगाई डब्लुएफपीको नक्कली छाप तथा लेटर प्याड समेत बनाएर विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा करोडौं रुपैयाँको टेण्डर आह्वानको विज्ञापन समेत प्रकाशित गरेका थिए ।

प्रहरीमा स्कार्पियो गाडि भाडामा दिने शंकर अर्याल, घरधनी बिश्वबहादुर गुरुङ, बोलपत्र स्वीकृत गरी डेस्कटप, कम्प्युटर ल्याप्टपसमेतका सामानहरु दिने हरीप्रसाद अर्याल, स्टेशनरी सामानहरु दिने नवराज पाण्डे, कार्यालय स्थापनाको लागि कार्पेट, पर्दा, कुर्सी, टेवल, दराज लगातयका सामानहरु दिने दिपेन्द्र धरेल, युनिफमको कपडा र खाद्यन्न टेन्डरको धरौटीको रुपमा रकम जम्मागर्ने गणेश शाह र कार भाडामा दिने विष्णु अर्यालले जाहेरी दिएका छन् ।

प्रहरी अनुसन्धानमा हालसम्म यी सातजनाबाट करिब १ करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।

यस्तै अनुसन्धानमा आफुलाई जयराम केसी भन्ने घनश्याम कटुवालले तराईका विभिन्न जिल्लाहरुमा पुर्व प्रमुख जिल्ला अधिकारी, पुर्व प्रहरी महानिरीक्षक, पुर्व सचिव, पुर्व उपसचिव बताएर ठगी गरेको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुईजना जयराम केसी भन्ने घनश्याम कटुवाल र दिनेश भन्ने लिला बहादुर भोलोनलाई पक्राउ गरेको छ । यस्तै प्राविधिक इन्जिनियर बनेका दिपेश गुरुङ भन्ने भिम भोलोन, जनसम्पर्क अधिकृत बनेका आकाश राई भन्ने मिलन तामाङ र कार्यालय सञ्चालक तथा शाखा अधिकृत बनेका पेम्बा तामाङ फरार रहेका छन् ।

पक्राउ परेका बिरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *