सुनकाण्डमा मुछिएका बुटवलका डीएसपी केसीलाई बर्खास्त गर्न सिफारिस

सुनकाण्डमा मुछिएर निलम्बनमा परेका इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ।

आन्तरिक छानबिनबाट उनले गम्भीर आचरण उल्लंघनसहित प्रहरी ऐनविपरीत कार्य गरेको देखिएकाले उनलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

डीएसपी केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रूपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको ठहर छानबिन समितिले गरेको छ।

उनका सम्बन्धमा छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनीविरूद्ध भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेको छ। गृह मन्त्रालयबाट थप निर्णयबारे जानकारी नआएको बताइएको छ।

डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रूपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँ नगदसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो।

विवादमा मुछिएका उनी बुटवलबाट सरूवा भएर कास्की जानुभन्दा एक दिनअघि सुन र नगद रकमसहित पक्राउ परेका थिए। पक्राउलगत्तै उनी निलम्बनमा परेका थिए।

बुटवलका सुन व्यवसायी किसन विकबाट गत वर्ष मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाई समेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको थियो।

सुन फिर्ता नगरेर उनले व्यवसायीसँग उल्टै रकम माग गरेको अनुसन्धानमा देखिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर