पाँचथरमा जीप दुर्घटना, एककाे मृत्यु, १३ घाइते

पाँचथरको फिदिम नगरपालिका-२ कृष्ण मन्दिरमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।

दुर्घटनामा इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङका २६ वर्षीया इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका-१ अमरपुरका २५ वर्षीय रोशन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भूपेन्द्र श्रेष्ठ र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ फावाखोलाका ३० वर्षीय सरोज मादेन घाइते भएका छन् ।

यसैगरी दुर्घटनामा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ का २४ वर्षीय अजय लिम्बू, इलामको देउमाई नगरपालिका सिद्धिथुम्काकी १४ वर्षीया निरूता रम्तेल, कालीकोटका २२ वर्षीय सुमन खड्का, काठमाडौँको बल्खुकी २० वर्षीया मीना लिम्बू, पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पौवासारतापका ३५ वर्षीय राम नेम्बाङ, पाँचथरको फिदिम नगरपालिका-१० याङनामकी ४० वर्षीया सविना विक र सोही स्थानकी पाँच वर्षीया पुस्तिका विक घाइते भएका छन् । घाइतेमध्ये मीना र सविनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर