चीनले बर्खास्त गर्‍याे विदेशमन्त्री छिन काङलाई, वाङ यी पुनः नियुक्त

चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त भएका छन्। राष्ट्रपति सी चिनफिङले मंगलबार उनलाई बर्खास्त गरेर वाङ यीलाई नियुक्त गरेका छन्।

बर्खास्त मन्त्री काङ एक महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन्। काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुनः नियुक्त गरिएको छ। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेशमन्त्री थिए।

बर्खास्त काङ चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेताका साथै राष्ट्रपति सी चिनफिङका विश्वासपात्रसमेत हुन्।

गत जुन २५ मा रूसी उपविदेशमन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्।

जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर, अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो। बोरेलको बेइजिङ भ्रमण रद्द भयो।

इन्डोनेसियाको जकार्तामा भएको दक्षिण-पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्। उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो।

काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि विभिन्न अड्कलबाजी भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले काङ नजरबन्दमा रहेको हुन सक्ने बताइरहेका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *