सुनकाण्डमा मुछिएका डीएसपी ठगबहादुर केसीलाई नोकरीबाट हटाइयो

गृह मन्त्रालयले सुनकाण्डमा मुछिएर निलम्बनमा परेका इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई नोकरीबाट हटाएको छ ।

गृहसचिव दिनेश भट्टराईले सचिवस्तरीय निर्णय गर्दै डीएसपी केसीलाई प्रहरी नियमावलीअनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेका हुन् । डीएसपी केसीलाई नोकरीबाट हटाएको निर्णय पत्र प्रहरी प्रधान कार्यालयमा पुगिसकेको छ ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट उनले गम्भीर आचरण उल्लंघनसहित प्रहरी ऐनविपरीत कार्य गरेको देखिएकाले उनलाई सेवाबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

डीएसपी केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रूपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको ठहर छानबिन समितिले गरेको छ।

उनका सम्बन्धमा छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो।

डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रूपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँ नगदसहित केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले पक्राउ गरेको थियो।

विवादमा मुछिएका उनी बुटवलबाट सरूवा भएर कास्की जानुभन्दा एक दिनअघि सुन र नगद रकमसहित पक्राउ परेका थिए। पक्राउलगत्तै उनी निलम्बनमा परेका थिए।

बुटवलका सुन व्यवसायी किसन विकबाट गत वर्ष मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाई समेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको थियो।

सुन फिर्ता नगरेर उनले व्यवसायीसँग उल्टै रकम माग गरेको अनुसन्धानमा देखिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर