सर्लाहीमा राअविका इन्स्पेक्टर मृत फेला

सर्लाही प्रहरीले राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का एकजना अनुसन्धान अधिकृत (इन्स्पेक्टर) लाई मृत फेला पारेको छ । प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा फेला पारेको हो ।

सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि बुधबार बिहान मृत फेला परेका हुन् । घटनास्थलमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सर्लाही प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घटनास्थलमा मृतक साहमाथि मोटरसाइकल लडिरहेको छ । उनको छाती र पेटमा मोटरसाइकलले च्यापेको र हेलमेटको फिता समेत कस्सिएको छ ।

‘घटनाको प्रकृति हेर्दा उहाँको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ एसपी सुवेदीले पर्दाफाससँग भने, ‘शवको पोष्टमार्टमपछि थप केही खुल्नेछ ।’

एसपी सुवेदीले साह कार्यालयबाट मंगलबार साँझ ६ बजेर ४५ मिनेटको आसपासमा निस्किएकाे बताए । उनले त्यसपछि पौने दशवजे परिवारलाई सम्पर्क गरेर आफु १० बजेसम्म घर आउने र खाना पकाएर राख्न भनेका थिए । ‘कार्यालयबाट निस्किएर उहाँ कहाँ जानु भयो, कोसँग भेट भयो, हामी अनुसन्धान गरिरहेका छौं,’ एसपी सुवेदीले भने ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर