अतिविशिष्ट र विशिष्ट व्यक्तिहरू विदेशमा उपचार गर्न गए सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट (भीभीआइपी) र विशिष्ट (भीआइपी) व्यक्तिहरू विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भीआइपी र भीभीआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताए। उनले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए।

कस्तुरीले आफ्नो वासना थाहा नपाएझैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै उनले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिव १० अर्ब थपेको सुनाए।

समाजसेवामा नाफा लिने नियत गलत राख्न नहुने उल्लेख गर्दै उनले दस प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असाहाय केन्द्रीय अस्पतालमा तीन हजार पाँच सय २३ शयया निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिए। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाए ।

‘कुनै बेला यही वीर अस्पतालले दस महिनासम्म कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था खेपेको थियो,’ उनले भने, ‘अहिले उत्साहजनक रूपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ । म यसमा तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु । अझै सेवाको स्तर बढाउने काममा दत्तचित्त भएर लाग्नुस् । सुशासन कायम गर्नुस् । तपाईँहरुको सेवा सुविधा अपुग भएमा सरकारले प्रबन्ध गर्नेछ । म मन्त्रीको हैसियतले अशल अभिभावको भूमिका खेल्नेछु ।’

कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मान प्रदान गरेका थिए ।

हाल वीर अस्पतालका सात शयया विपन्नका लागि निःशुल्क गरिएको छ । ओपीडी सेवा बिहान ८ बजेदेखि सञ्चालन गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको बिम्ब भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने जनाए । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई महत्त्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसीयूको सङ्ख्या बढाएर सञ्चालन गरिने जनाए ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले १५ शययाबाट सुरु भएको अस्पतालमा अहिले नौ सय ६६ शयया सञ्चालन हुन थाले पनि सोअनुसार बजेट बृदि हुन नसकेको बताए । सरकारले चालु आर्थिक वर्षमा अस्पतालका लागि ७३ करोड रूपैयाँ बजेट विनियोजन गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर