कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा गठित कोशी प्रदेश सरकार अवैध ठहर गरेपछि नयाँ सरकार गठनको कसरत सुरू भएको छ।

यही क्रममा नयाँ सरकार गठनका लागि सत्तारूढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ।

शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन्।

सर्वोच्चको आदेशसँगै मुख्यमन्त्री थापा पदमुक्त भएका छन्। प्रधानमन्त्रका स्वकीय सचिव रमेश मल्लका अनुसार अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दुई दलका शीर्ष नेताबीच छलफल भएको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा हालकै अवस्थामा कसैको सरकार बन्ने अवस्था देखिँदैन। सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्नेछ।

गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, नेकपा (एमाले) का ४० र राप्रपाका ६ सांसद छन्।

यस्तोमा कांग्रेस-माओवादी राप्रपालाई आफ्नो विश्वासमा लिने प्रयासमा छन्। शनिबार पनि शीर्ष नेताबीच राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्पमा पनि छलफल भएको छ।

एमालेका नेता हिक्मतकुमार कार्कीले असार १५ को प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख परशुराम खापुङले असार १७ मा ५ दिनको समयसीमा तोकेर संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

तटस्थ भूमिकामा रहनुपर्ने सभामुख बाबुराम गौतमको समेत समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री नियुक्त भएका थिए। यसविरूद्ध निवर्तमान मुख्यमन्त्री एवं एमाले नेता हिक्मत कार्कीले सर्वोच्च रिट दर्ता गरेका थिए।

सभामुखलाई मताधिकार नरहेको भन्दै सर्वोच्चले बिहीबार थापाको नेतृत्वमा गठित सरकार बदर गरिदिएसँगै पुनः नयाँ सरकार गठनका लागि आह्वान भएको छ।

प्रदेश प्रमुख परशुरामा खापुङले शुक्रबार १६ साउन बेलुका ५ बजेसम्मको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर